काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुने गरी गरिएका नीतिगत व्यवस्थाहरु परिवर्तन नहुने अडान व्यक्त गरेका छन् ।

स्पन्ज आइरनको आयातमा दिइएको भन्सार महसुल छुटका विषयमा आयातित बिलेटबाट फलामे छड उत्पादन गर्ने उद्योगहरुले आपत्ति जनाइरहेका बेला मन्त्री शर्माबाट उक्त नीतिगत व्यवस्था परिवर्तन नहुने अडान व्यक्त भएको छ ।

विदेशबाट बिलेट आयात गरेर छड उत्पादन गर्ने उद्योगहरुले देशभरका ३० वटा छड उद्योगमध्ये २४ वटाले विदशमा निर्मित बिलेटबाट छड उत्पादन गर्ने र स्पन्ज आइरनको आयातमा दिइएको भन्सार छुटले ती उद्योग मर्कामा पर्ने तथा स्पन्ज आइरनबाट छड उत्पादन गर्ने ६ वटा उद्योगमात्र लाभान्वित हुने तर्क गर्दै आएका छन् ।

आन्तरिक राजस्व विभागको दुईदिने व्यवस्थापन गोष्ठी उद्घाटन सत्रमा मन्त्री शर्माले दीर्घकालीन रुपले देशलाई फाइदा पुग्ने गरी गरिएको व्यवस्था परिवर्तन नहुने प्रस्ट पारे । ‘मलाई कतिपयले प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन् । म व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने व्यक्ति होइन । त्यस्तो दुस्साहस नगर्न आग्रह गर्छु । स्वदेशी उत्पादनमा आधारित र रोजगारी सिर्जना गर्ने उद्योगहरुलाई प्रोत्साहन दिने गरी भएको निर्णय फिर्ता हुँदैन ।’ आयातमा आधारित राजस्वभन्दा आन्तरिक उत्पादन र निर्यातमा आधारित राजस्व बढाउनुपर्नेमा जोड दिँदै उनले यसतर्फ थप सक्रियताका साथ काम गर्न निर्देशन दिए । उनले करका दरसम्बन्धी थप सुधारका कामहरु कर पुनरावलोकन आयोग गठन गरेर सम्पन्न गरिने जानकारी दिए ।

यसअघि आफूले आन्तरिक राजस्व दोब्बर बनाउने गरी योजना माग गरेको विषयलाई कतिपयले खिसिट्यूरी गरेकोमा चित्त दुखाउदै मन्त्री शर्माले भने, ‘यो मैले जानी जानी भनेको हो, भाषण गर्नलाई भनेको हैन । मैले योजना माग गरेको हुँ, त्यो योजना अहिलेसम्म पनि आएन ।’ मुलुकको आन्तरिक राजस्व दोब्बर गर्न सकिने सम्भावना रहेको भन्दै मन्त्री शर्माले त्यसको योजना पेस गर्न पुनः ताकेता गरे ।

विभागमा योग्य कर्मचारीको टिम रहेको उल्लेख गर्दै उनले राजनीतिक नेतृत्व परिवर्तनको क्रम कर्मचारीको इच्छाभन्दा बाहिर रहेकोले जो नेतृत्वमा आए पनि आफ्नो जिम्मेवारी अनुसारको भूमिका निर्वाह गर्न निर्देशन दिए ।

कर प्रशासनलाई अझै सरल बनाउनुपर्नेमा जोड दिँदै मन्त्री शर्माले तीन महिनाभित्र करदाताले अनलाइनबाटै कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिए । करको दायरा विस्तार गर्नको लागि करदातामैत्री व्यवहार गर्ने र मापदण्ड बनाई उनीहरुलाई सम्मान हुने खालको परिचयपत्रको व्यवस्था मिलाउनको लागि तयारी गर्न आग्रह गरे । मन्त्री शर्माले अबदेखि नागरिकतासँगसँगै स्थायी लेखा नम्बर (प्यान नम्बर) उपलब्ध गराउने गरी आवश्यक नीतिगत तयारी गर्न समेत निर्देशन दिए ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले करदाताले भ्याट बिल जारी गर्नासाथ सिधै आन्तरिक राजश्व विभागको प्रणालीमा विवरण दाखिला हुने गरी प्रविधिमा सुधार गर्न निर्देशन दिए ।

करको दायरा विस्तारमा स्थायी लेखा नम्बर वितरणले महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि तिनको ट्रेसिङ र ट्र्याकिङ हुन सकेन भने ‘नन फाइलर’को संख्या बढ्ने र अनावश्यक प्रशासनिक दायित्व मात्र थपिने उल्लेख गर्दै सचिव मरासिनीले ‘प्यान होल्डर’हरुको ट्र्याकिङ सिस्टम चुस्त बनाउनुपर्ने बताए ।

राजस्व सचिव कृष्णहरि पुस्करले परम्परागत कर प्रशासनलाई सुधार गरी ‘ट्याक्सोलोजिस्ट’को आधुनिक सिद्धान्तमा आधारित कर प्रसासन बनाउनुपर्ने धारणा राखे । कर तिर्न दोस्रो व्यक्तिको सहायता लिनुपर्ने, बिचौलियाको सहारा लिनुपर्ने झन्झटिलो अवस्था रहेको स्वीकार गर्दै सचिव पुष्करले यसमा सुधार ल्याई करदातामैत्री प्रशासन सञ्चालनमा जोड दिए । कर्मचारीको कार्यशैली र कार्यसम्पादन स्तरले देशको वित्तीय छवि झल्काउने भएकोले यसतर्फ ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र सांघाई, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले झन्झटयुक्त कर प्रशासनलाई सरलीकृत गर्न, करदाताको सामाजिक सुरक्षाको व्यवस्था मिलाउन, करदातालाई सम्मानजनक व्यवहार गर्न, प्रविधिको प्रयोगलाई विस्तार गरी सजिलैसँग घरघरबाटै कर तिर्ने व्यवस्था मिलाउनलगायतका सुझावहरु दिए ।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक शोभाकान्त पौडेलले आर्थिक वर्ष २०७७–७८ को समग्र अवस्थावारे प्रस्तुति दिए । उनले राजस्व संकलन लक्ष्यको ९५.३५ प्रतिशत अर्थात ४२९ अर्ब भएको, ७ लाख ६९ हजार नयाँ प्यान जारी भई करको दायरा विस्तार गरिएको, कर विवरण बुझाउनेको संख्या आयकरतर्फ ५७.८ प्रतिशत र मूल्य अभिवृद्धि करतर्फ ७७.१८ प्रतिशत रहेको जानकारी दिए । यस्तै देशको आन्तरिक राजस्वमा १०० जना करदाताको ५० प्रतिशत योगदान रहेको र अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलन १२ प्रतिशतले बढेको तथ्यांक प्रस्तुत गरियो ।

यसैगरी, आन्तरिक राजस्व विभागका चुनौतीहरुमा अनौपचारिक क्षेत्रमा रहेको आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने, नक्कली बिलबिजक, न्यून बिजकीकरण, विद्युतीय अर्थतन्त्रले ल्याएका चुनौती, अन्तशुल्कमा स्टिकर व्यवस्थापन, नक्कली स्टिकर, कर परिपालना स्तर वृद्धि गर्नुपर्ने, कर परीक्षण र अनुसन्धानलाई नतिजामूलक बनाउनेलगायत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय