वीरगन्ज– नेपाली व्यवसायीले तेस्रो मुलुकबाट आयात गर्ने वस्तु भारतीय बन्दरगाहबाट नेपालसम्म ढुवानीमा कन्कोरको एकाधिकार हटेको छ । कन्कोरको एकारधिकार अन्त्य भएसँगै आयातित सामानको ढुवानी भाडा घट्ने अपेक्षा गरिएको छ ।

भारतको निजी कम्पनी हिन्द टर्मिनलको मालबाहक रेलले पहिलो खेप सामान बुधबार सिर्सिया आएपछि नेपाली कार्गो ढुवानीमा भारतीय रेल्वको भगिनी संस्था कन्टेनर निगम लिमिटेड ‘कन्कोर’को एकाधिकार विधिवत् टुंगिएको हो ।

हिन्द टर्मिनलको रेलले हल्दिया बन्दरगाहबाट ९० कन्टेनर खाद्य सामग्री बुधबार सुक्खा बन्दरगाह ल्याइपुर्याएको हो । सोमबार हल्दियाबाट हिँडको रेल बुधबार १० बजे आइपुगेको सुक्खा बन्दरगाह सञ्चालक गर्ने कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले जनाएको छ ।

२००४ को मे २१ मा सम्पन्न नेपाल–भारत रेल सेवा सम्झौताको प्रावधानले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कन्कोर)लाई एकाधिकार दिएको थियो । सोही बमोजिम भारतको पश्चिम बंगालस्थित कोलकाता र हल्दिया बन्दरगाह तथा आन्ध्रप्रदेशको विशाखापटनम बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो कन्कोरले ढुवानी गर्दै आएको थियो । गत जुलाईमा रेल सेवा सम्झौता संशोधन भएपछि निजी रेल कम्पनीले ढुवानी गर्ने बाटो खुलेको थियो । सम्झौता संशोधनसँगै भारतका निजी रेल सेवा प्रदायक र नेपाल रेल्वे कम्पनीले पनि नेपालमा रेलमार्फत ढुवानी गर्न सक्ने छन् । सोही बमोजिम पहिलो खेप कार्गो कन्कोर बाहेकको रेल सेवा प्रदायकमार्फत सुक्खा बन्दरगाह आइपुगेको हो ।

एकाधिकार हुँदा रेल भाडामा कन्कोरको मनोमानी थियो । अब नेपाली आयातकर्ताले भारतका १५ निजी रेल सेवा कम्पनीबाट ढुवानी सेवा लिन सक्छन् । हालसम्म नेपाली सामान ढुवानीमा कन्कोरबाहेक तीनवटा कम्पनीले रुचि देखाएका छन् ।

निजी रेल सेवा कम्पनीले नेपालको कार्गो ढुवानी गर्न पाउने भएपछि प्रतिस्पर्धा हुने र ढुवानी भाडा घट्ने आयातकर्ता व्यवसायीको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव मदन मित्तल बनाउँछन् । ‘यसले हामीलाई निश्यचनै फाइदा हुन्छ । ढुवानी बजारमा प्रतिस्पर्धा भएपछि कन्कोर पनि भाडा घटाउन बाध्य हुनेछ,’ उनले भने, ‘भारतका रेल सेवा कम्पनी पनि नेपाली सामान ढुवानी गर्न इच्छुक छन् ।’

सुक्खा बन्दरगाह सञ्चालन गरिरहेको प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले पनि भारतीय बन्दरगाहबाट सुक्खा बन्दरगाहसम्म आयातित सामान ओसार्न आफ्नै रेल सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय