काठमाडौं– रोहिंग्या शरणार्थीलाई अमेरिका लैजाने प्रलोभनमा पारी अवैध रुपमा नेपाल भित्र्याउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले तीनजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको डल्लु बस्ने बंगलादेशका ३० वर्षीय आजमत अली, काठमाडौं कपन राम मन्दिर (शरणार्थी क्याम्प) बस्ने म्यानमारका रोहिंग्या शरणार्थी २७ वर्षीय सोफिक आलम र सोही क्याम्प बस्ने म्यानमारका रोहिंग्या शरणार्थी २६ वर्षीय नूर अमिन रहेको प्रहरीले जनाएको छ ।

अमेरिका जान खोज्ने रोहिंग्या शरणार्थीलाई तस्करले बंगलादेशबाट नेपाल ओसार्दै गरेको सुराकीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा नूर अमिन र सोफिक आलमले बंगलादेशी नागरिक आजमत अलिसँग मिली रोहिंग्या शरणार्थीलाई नेपाल ल्याउने गरेको खुल्न आएपछि उनीहरूलाई शनिबार पक्राउ गरी मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा पठाएको थियो ।

उक्त ब्युरोबाट थप अनुसन्धानको क्रममा बंगलादेशमा शरण लिएका ६ जना रोहिंग्या शरणार्थीलाई नेपालमा पुगेपछि मासिक भत्ता दिइने तथा २०२२ मा युएनएचसिआरले अमेरिका जाने परिचयपत्र दिने प्रलोभनमा पारी नूर अमिन समेतले रोहिंग्या शरणार्थीहरुबाट २ लाख ५० हजार टाका लिई साउन १८ गते स्थलमार्ग हुँदै भदौ १८ गते विराटनगर ल्याएका थिए । उनीहरुलाई भदौ १९ गते काठमाडौंस्थित युएनएचसिआर कार्यालय जाने बाटोमा छोडिएका थिए । युएनएचसिआरले उनीहरुलाई शरणार्थीको परिचयपत्र दिई कपनस्थित रोहिंग्या शरणार्थीको जिम्मा लगाएको थियो ।

उनीहरूको खोनी गरी घटनाका सम्बन्धमा सम्पूर्ण जानकारी लिँदा उनीहरूलाई नेपाल हुँदै अमेरिका लैजाने भनी अवैध रुपमा ओसारपसार गरेको खुल्न आएपछि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिई थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय