काठमाडौं– कुल आचार्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौंमा आइतबार एक कार्यक्रम गरी उनले उम्मेदवारी घोषणा गरेका हुन् । उनी अहिले संघका सल्लाहकार छन् ।
एनआरएनएको दसौं विश्व सम्मेलन आगामी अक्टोबर २३ देखि २५ मा काठमाडौंमा हुँदैछ । संघलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए ।
आचार्यले आफू अध्यक्षमा निर्वाचित भए कोभिडका कारण रोजगारी गुमाएर फर्किएका युवाका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने, विदेशमा हुर्किरहेका बालबालिकालाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न अनलाइन कक्षा सञ्चालन गर्ने, एनआरएन खेल प्रतिभाको विकासमा सघाउन ‘एनआरएनए खेलकुद प्रतिष्ठान’ स्थापना गर्ने प्रतिबद्धता जनाए ।
उनले एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थासँग सम्झौता गर्ने पनि बताएका छन् ।
संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने आचार्य दोस्रो व्यक्ति हुन् । केही दिनअघि रविना थापाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । थापाले केही दिनअघि काठमाडौंको याक एन्ड यती होटलमा एक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेकी हुन् ।









