काठमाडौं– दसैंमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागीर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन्छ ।

एक निजी कलेजमा अध्ययनरत धनगढीका निशान खड्का आज बिहानै दशैंमा घर जाने टिकट लिन नयाँ बसपार्क पुगे । काठमाडौंको चाबहिलमा डेरा लिएर बस्दै आएका उनी बिहान ५ बजे नयाँ बसपार्क पुगेका थिए । असोज २२ गते घर जाने तयारीमा रहेका उनले दुई घन्टाको प्रतीक्षापछि टिकट पाए । ‘अघिल्ला वर्षभन्दा यस वर्ष टिकट लिन सहज भयो,’ उनले भने ।

काठमाडौंबाट कैलाली हुँदै लम्की जाने तयारीमा रहेका आशिष पाण्डे टिकट लिन बिहान ४ बजे अन्यसाथी सहित नयाँ बसपार्क पुगे । निजी कम्पनीमा कार्यरत उनले असोज २५ गते लम्की जान एकजनाको दुई हजार ३५ भाडा तिरेर टिकट दिए । उनी काठमाडौंको पेस्सीकोलाबाट टिकट लिन नयाँ बसपार्क पुगेका थिए । यस्तै, प्युठानका टीकाराम पोखरेल बिहान ५ः३० बजे नयाँ बसापार्क पुगे ।

सरकारले यस वर्षको दसैंमा घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, रोल्पा तथा पूर्वको सिराहा, सप्तरी, ताप्लेजुङ, इलाम, झापा, उदयपुर लगायत ठाउँमा जाने यात्रुको बसपार्कमा लाइन देखिन्थ्यो ।

गत वर्ष कोरोना संक्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन । यस वर्ष भने समयमा नै अग्रिम टिकट बुकिङ खुला गरिएको हो । यसका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा ११ टिकट बुकिङ काउन्टर थप गरेको छ ।

प्रालिका महाप्रबन्धक सुनिल कुँवरले दसैंमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टर थप गरिएको जानकारी दिनुभयो । गत वर्षमा यात्रुलाई हस्तलिखित टिकट प्रदान गरिँदै आए पनि यसपटक भने हस्तलिखित र प्रविधिमैत्री दुवैखाले टिकट वितरण गरिएको छ ।

संक्रमण यथावत रहेकाले अग्रिम टिकट बुकिङका लागि भौतिक दूरी कायम गरिएको छ । बसपार्क क्षेत्रमा चाडपर्वमा हुनसक्ने लुटपाट, चोरी, डकैतीलाई न्यूनीकरण गर्न लोत्सेले ३४ सेक्युरिटी गार्ड र नेपाल प्रहरीले ४० सुरक्षाकर्मी खटाएको छ ।

यस्तै, दसैंमा यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म जाने वातावरण निर्माण गर्न गाडीलाई राम्रो किसिमको मर्मतसम्भार गर्नुका साथै माक्स र स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाइएको उनले बताए ।

प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले अग्रिम टिकट बुकिङका लागि बसपार्कमा ११ टिकट काउन्टर थप गरेको जानकारी दिए । बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्युटर प्रणालीको माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आएको छ ।

काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित विष्णुमति किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको सो बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले गत वर्षजस्तो यस वर्ष दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङका लागि आउने यात्रुको संख्या कम भएको जानकारी दिए । ‘कोरोना संक्रमण र बाटोको दूरावस्थाका कारण गत वर्षका तुलानामा यसवर्ष अग्रिम टिकट लिन आउनेको संख्या घटेको हुन सक्छ,’ उनी भन्छन् । उनी यात्रुलाई टिकट लिएपछि राम्रोसँग आफू जाने गन्तव्यस्थल, मिति र समय हेर्न आग्रह गर्छन् ।

महासचिव सिटौला यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बस थप्दै जाने बताउँछन् । नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलंकीबाट समेत अग्रिम टिकट बुकिङ सुरुआत गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षले राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय