रसुवा– ठेकेदार कम्पनीको हेलचक्र्याइँका कारण टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडानमा ढिलाइ भएको छ । उपकरण जडानको जिम्मा लिने भोइथ इन्डिया नामक भारतीय कम्पनीले सम्झौताबमोजिम काम अगाडि नबढाई आलटाल गर्दा विद्युत् गृहमा जडान गर्नुपर्ने कुनै पनि उपकरण जडान हुन सकेको छैन ।

सम्झौताको सर्तअनुसार गत चैतबाटै काम सुरु गर्नुपर्नेमा कोभिड संक्रमणलगायत विभिन्न बहानामा ढिलाइ गरिरहेको भोइथ इन्डियालाई आफूले बारम्बार ताकेता गरिरहेको रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख छवि गैरेले जानकारी दिए ।

ठेक्का प्रक्रियाबाट उपकरण आयात एवं जडान खर्चसमेत दुई अर्ब ६० करोडमा कार्य सम्पन्न गर्ने सर्तका साथ उक्त कम्पनीले काम जिम्मा लिएको थियो । १११ मेगावाट क्षमताको सो आयोजनाको विद्युत् गृहमा उपकरण जडान गर्न एक वर्ष लाग्ने र हालसम्म ५० प्रतिशत प्रगति हासिल गरी सक्नुपर्ने अवस्थामा कामको जिम्मा लिने कम्पनी नै गैरजिम्मेवार हुँदा उत्पादनमा ढिलाइ हुने अवस्था सिर्जना भएको प्राविधिक बताउँछन् ।

विद्युत् गृहमा जडान हुने उपकरण भने आयोजनास्थलमा भण्डारण भइसकेको र सो कम्पनीले दक्ष प्राविधिक उपलब्ध गराउना साथ काम अगाडि बढ्ने अवस्था रहेको बताइएको छ । आगामी वर्ष असारको पहिलो हप्ताभित्र राष्ट्रिय प्रसारण लाइनमा विद्युत् प्रवाह गर्ने लक्ष्य रहेको अवस्थामा भोइथ इन्डिया बाधक बन्न पुगेको बताइएको छ ।

रसुवागढी जलविद्युत् आयोजनाको सम्झौता र कार्यादेशबमोजिम विद्युत् उपकरण जडान नगर्ने ठेकेदार कम्पनीलाई सर्तका प्रावधानअनुरूप कडा कारबाहीको प्रक्रिया अगाडि बढाउन लागिएको आयोजना प्रमुख गैरेले जानकारी दिए । आयोजनाको संरचना भूमिगत भएकाले उपकरण जडान गर्न गराउन भारी वर्षा बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले कुनै असर नगर्ने आयोजनाले स्पष्ट पारेको छ ।

सन् २०१३ बाट निर्माण चरणमा अगाडि बढेको सो आयोजना सन् २०१७ मा सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि भौगोलिक विकटता लगायत विविध कारणले चार वर्ष बितिसकेको छ । ढिलाइका कारण भने तत्कालीन अवस्थामा पेट्रोलियम पर्दाथको अभाव, भूकम्पको असर, वर्षैंपिच्छे राजमार्गमा पहिरो जाँदा सामान ढुवानीमा समस्या, भूकम्पपछि सर्ज ट्यांक जाने सहायक मार्गमा गएको पहिरो, भोटेकोसीमा बेलाबेला आउने बाढीजस्ता असरले निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ ।

रसुवागढी नजिक भोटेकोसीको बाँध बाँध्ने कामका साथै चार हजार १२५ मिटरको हेडरेस सुरुङ, विद्युत् गृह लगायतका संरचना तयार भइसकेका र बाँकी सर्ज ट्यांकको काम भने भित्री भागबाट अगाडि बढाइएको छ । २०७२ को भूकम्पको असरले सर्ज ट्यांक क्षेत्रको बाहिरी भागको पहुँच मार्गमा पहिरो गई असहज परिस्थिति उत्पन्न भएपछि भित्री भागबाट निर्माण कार्य अगाडि बढाइएको हो ।

यस्तै यस वर्षको वर्षाले आयोजनास्थल जाने पहुँच मार्गमा क्षति पुर्याएको र भोटेकोसीमा पानीको बहाव अत्यधिक बढ्न गई टेलरेस सुरूङबाट पानी भित्र पसेर विद्युत् गृह स्थलमा लेदो जम्मा हुँदा सफा गर्न लामो समय खर्चिनुपरेको बताइएको छ । निर्माण चरण अन्तर्गत बाहिरी भागमा केही असहजता आए पनि कार्य सम्पन्न भएपछि विद्युत् संरचनामा बाढी, पहिरो, चट्याङजस्ता कुनै पनि प्राकृतिक प्रकोपले असर नगर्नेे जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय