डोटी– मुक्त हलियाको पुनःस्थापनका लागि पाँच वर्षअघि निर्माण गरिएका घरमा अहिलेसम्म उनीहरु नबस्दा ती घरहरु भत्किन थालेका छन् । कतिपय घर बर्खे झरीले जगदेखि नै भत्किइसकेका छन् भने कतिपय भत्किने अवस्थामा पुगेका छन् ।

पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको मुक्त हलियाको बस्तीमा मान्छे नबस्दा दिनहुँ खण्डहर हुनाका साथै घर भत्किँदै गएका हुन् । पुस्तौंदेखि मालिकको घरमा हलो जोतेका १८ परिवारका लागि सरकाले बनाइदिएको उक्त बस्तीमा निर्माण भएको पाँच वर्ष बितिसक्दासमेत कोही पनि नबस्दा बस्ती खण्डहरमा परिणत हुँदै जान थालेको छ ।

सरकारले निर्माण गरेको उक्त बस्तीमा पानी बिजुली नहुँदा मुक्तहलिया बस्न नसकेको उक्त सामूहिक बस्तीमा घर भएकी मुक्त हलिया चन्नरी कोलीले बताए । हलिया बस्ती स्थापनाका लागि विद्यालय, खानेपानी, विद्युत् तथा न्यूनतम विकासका पूर्वाधार हुनपर्ने कार्यविधिमा उल्लेख भए पनि बगलेकको बीच जंगलमा बस्ती बसाउँदा समस्या भएको मुक्त हलियाको गुनासो छ । हलियालाई पुनः हलिया नै बनाइ राख्नका लागि बगलेकको जंगलमा बस्ती राख्न प्रपञ्च गरिएको हलिया अभियानकर्मी गोरखबहादुर सार्कीले बताए ।

कर्मचारी अभावका कारण जिल्लाभरि मुक्त हलियाका मर्मत तथा निर्माण भएका सबै घरको अनुगमन गर्न नसकिएको घर अनुगमनको जिम्मा पाएका जिल्ला मालपोत कार्यालयका प्रमुख प्रेमबहादुर माझीले बताए । सरकारले गएको वर्ष नै हलिया पुनःस्थापनाको काम सक्ने बताए पनि प्रभाकारी कार्यान्वयन नहुँदा वास्तविक पुनःस्थापना हुनेमा मुक्त हलियामा शंका पैदा गरेको छ ।

मुक्त हलिया पुनःस्थापना बस्तीमा एउटा घर पनि मापदण्ड अनुसार नबनेका स्थानीयको आरोप छ । बस्तीमा जस्तापाताले छाएका घर भुइँतले मात्र छन् भने उचाइ सात फिटभन्दा तल छ । बगलेकमा मापदण्ड अनुसारका घर नबनेको जानकारी आफूलाई पनि प्राप्त भएको प्रमुख माझीले स्वीकार बताए ।

दुईकोठे भवन निर्माणको नक्सा भए पनि सानो आकारको टहराजस्तो घर निर्माण गरेर मुक्त हलियाले अनुदान लिने गरेका छन् । नेपाल सरकारले जग्गा खरिदका लागि दुई लाख र घर निर्माणका लागि तीन लाख २५ हजार दिएको भए पनि घर निर्माण गर्दा करिब एक लाख १२ हजारमात्र खर्च गरेको मुक्त हलिया दीपक कोलीले आरोप लगाए । बस्तीमा निर्माण गरिएका घरको झ्याल ढोकासमेत नभएको मुक्त हलिया समाजका पूर्वअध्यक्ष डम्मर विकले बताए ।

विसं २०७४ असारमा नमूना हलिया बस्ती निर्माणका लागि अन्तिम तयारी गरेको अवस्थामा आर्थिक चलखेल भएको खबर बाहिरिएपछि जग्गा खरिदका लागि काटिएको ७८ लाखको चेक कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा गरिएको थियो । हनुमान हर्टिकल्चर प्रालिका नाममा रहेको उक्त जमिन विसं २०७५ असारमा फेरि १८ जनाले व्यक्तिगत जग्गा खरिद गरेर पास भएको थियो ।

मुक्त हलिया बस्दै आएको ठाउँबाट एक घन्टाको दूरीमा रहेको उक्त जमीन सुविधा नरहेको जानकारी हुँदाहुँदै पनि किन जमिन खरिद गरियो यो भने रहस्यको विषय बनेको स्थानीयवासीको आरोप छ । पूर्वीचौकी–२ बगलेक र दिपायल सिलगढी नगरपालिका वडा नं ७ मा मुक्तहलियाका ३० परिवारको पुनःस्थापनाका लागि जग्गा खरिद तथा घर निर्माण गरिएको छ । प्रतिपरिवार पाँच लाख २५ हजारको लगानी भए पनि हाल उनीहरू पुरानो घरमा बस्दै आएका बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय