सोल– दक्षिण कोरियामा रहेका नुवाकोटेहरुको संस्था नुवाकोट समाज दक्षिण कोरियाको आठौं अधिवेशन तथा वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
भर्चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रममा कोरियाका लागि नेपाली कार्यबाहक राजदूत रामसिंह थापा प्रमुख अतिथि थिए । विशेष अतिथिमा गैरआवासीय नेपाली संघ चीनका प्रतिनिधि, अस्ट्रेलियाबाट संघका केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार धर्मराज अधिकारी, नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रन्जनराज कुँवर, एनसिसी कोरियाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र वाग्मती एकता समाज कोरियाका वरिष्ठ उपाध्यक्ष सुरज दर्लामी थिए ।
विभिन्न जिल्ला सम्पर्क समिति कोरियाका प्रतिनिधि र अन्य जातीय, क्षेत्रीय, राजनीतिक संघ–संस्थाका प्रतिनिधि र नुवाकोट स्थायी ठेगाना भई कोरियामा रहेका सबैको उत्साहजनक सहभागितामा औपचारिक कार्यक्रम सम्पन्न भएको समाजले जनाएको छ ।
निवर्तमान अध्यक्ष सुन्दरप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथि र अन्य अतिथिले संस्थाले विगतमा गरेका कामको प्रशंसा र नयाँ आउने कार्यसमितिलाई सुभकमना दिँदै विभिन्न विषयमा आफ्नो धारण राखेका थिए ।
संस्थाका निवर्तमान अध्यक्ष अधिकारीले संस्थाको कार्यप्रगति र आर्थिक विवरण पेस गरेका थिए । उक्त प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । त्यस्तै, विधान संशोधन गरी कार्यसमितिको कार्यकाल एक वर्षबाट बढाएर दुई वर्ष बनाइएको छ । विधानका अन्य प्रावधानको संशोधन पनि सर्वसम्मतिबाट पारित भएको छ ।
संस्थाका सस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक रन्जन कुँवरको संयोजकत्वमा गठित निर्वाचन समितिले रामकुमार गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको छ । नवनिर्वाचित अध्यक्ष रामकुमार गौतमले आफ्नो कार्यकालमा निष्पक्ष ढंगले का मगर्ने, आर्थिक पारदर्शिता कायम राख्ने र संस्थाको गरिमा घट्न नदिने प्रतिबद्धता जनाए ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा टंक राना मगर, उपाध्यक्षमा अभिनाश तामाङ, महिला उपाध्यक्षमा रबिना श्रेष्ठ, सचिवमा सुरेश भट्ट र सहसचिवमा सन्जना शर्मा सर्वसम्मत भएका छन् ।
त्यसैगरी, कोषाध्यक्षमा राम ढुंगाना, सह–कोषाध्यक्षमा अर्जुन तामाङ तथा सदस्यहरुमा जुना गुरुङ, सुजन सिलवाल, बाबुराम रिमाल, अश्विन अधिकारी र सुनिल रिजाल सर्वसम्मत भएको संस्थाले जनाएको छ ।









