काठमाडौं– नेपालको अर्थतन्त्र चालु आर्थिक वर्ष २०७८/०७९ मा ३.९ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्ध फिर्ता, खोप अभियान, पर्यटन र आप्रवासी कामदारको आवागमनमा हुने सुधारले नेपाललाई सो दरमा आर्थिक वृद्धिदर हासिल गर्न सघाउने विश्व बैंकको प्रक्षेपण छ ।

चालु वर्षका लागि गरिएको प्रक्षेपण गत आर्थिक वर्ष २०७७/०७८ मा १.८ प्रतिशतको तुलनामा दोब्बरभन्दा बढी भए पनि महामारी सुरु हुनुअघिका वर्षको तुलनामा कम रहेको विश्व बैंकले बिहीबार सार्वजनिक गरेको साउथ एसिया इकोनोमिक फोकस नामको प्रतिवेदनमा उल्लेख छ ।

विश्वव्यापी मागमा निरन्तर सुधार आएको र लक्षित प्रतिबन्धका उपायहरुले कोभिड–१९ को पछिल्लो लहरमा आर्थिक असर कम गर्न सघाएकाले दक्षिण एसियाली अर्थतन्त्रको पुनरुत्थान निरन्तर रहेको प्रतिवेदनमा उल्लेख छ । ‘तैपनि यो पुनरुत्थान अझै कमजोर र असमान छ, र अधिकांश मुलुकहरु अझै पनि महामारीपूर्वको प्रवृत्तिस्तरभन्दा निकै पर छन्,’ विश्व बैंकको अर्धवार्षिक क्षेत्रीय अपटेडमा भनिएको छ । नेपालको पुनरुत्थान अति संवेदनशील रहेको तथा यो सामाजिक दुरी र प्रभावकारी खोप कार्यक्रमसँगै आर्थिक गतिविधिको निरन्तर र क्रमिक पुनरारम्भमा भर पर्ने उसले जनाएको छ ।

नेपालको आर्थिक वृद्धिको प्रक्षेपण नेपालसँग मिल्ने आर्थिक वर्ष (जुलाइमा सुरु भएर जुनमा सकिने) भएका सार्क मुलुक भुटान र पाकिस्तानको तुलनामा बढी हो । विश्व बैंकले भुटानको चालु आर्थिक वर्षको वृद्धिदर ३.६ र पाकिस्तानको ३.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । नेपाल जस्तै जुलाइमा आर्थिक वर्ष सुरु भएर जुनमा सकिने बंगलादेशको वृद्धिदर भने ६.४ प्रतिशत रहने विश्व बैंकले सिफ्टिङ गियर्स : डिजिटाइजेसन एन्ड सर्भिसेस–लेड डेभलपमेन्ट नामको प्रतिवेदनमा उल्लेख छ ।

आगामी जनवरीमा सुरु भएर २०२२ को डिसेम्बरमा आर्थिक वर्ष सकिने माल्दिभ्सको प्रगति भने ११ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । सोही अवधिलाई आर्थिक वर्ष गणना गर्ने श्रीलंकाको प्रगति भने २.१ प्रतिशत मात्र हुने प्रक्षेपण छ । गत अप्रिलमा चालु आर्थिक वर्ष सुरु भएको भारतको वृद्धिदर भने ७.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

दक्षिण एसियाली अर्थतन्त्रको वृद्धिदर २०२१ र २०२२ मा औसत ७.१ प्रतिशत रहने विश्व बैंकको भनाइ छ । उसले दक्षिण एसियाको वार्षिक वृद्धिदरलाई सन् २०२० सँगको तुलनामा सशक्त भनेको छ । सन् २०२० देखि २३ सम्मको औसत वार्षिक वृद्धिदर ३.४ प्रतिशत रहने र यो महामारी सुरु हुनअघिको चार वर्षको औसत भन्दा ३ प्रतिशत बिन्दुले कम रहेको उसको भनाइ छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जर्मोसले महामारीले मुलुकहरुलाई पुनरुत्थानको बाटो तय गर्ने अवसर प्रदान गरेको र त्यसले संकटबाट पाठ सिकेको टिप्पणी गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय