काठमाडौं– वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा २३ प्रतिशतले बढाएको छ । बढेको भाडा कात्तिक १ गतेदेखि लागू हुनेछ ।
मन्त्रालयले प्रदेश भाडा निर्धारण÷समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८ बमोजिम १० वटा मुख्य सूचक, यातायात व्यवसायीका संघ, संस्थाले दिएको लिखित तथा मौखिक सुझाव र यातायात व्यवस्था विभागले जारी गरेको भाडा समायोजन प्रतिवेदनलाई आधार मानेर भाडा वृद्धिको गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका सचिव अशोक शाहले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुबाहक सवारी साधनको हकमा पाँच किलोमिटरसम्मको १८ रुपैयाँ, १० किलोमिटरसम्मको २३ रुपैयाँ र १५ किलोमिटरसम्मको २७ रुपैयाँ भाडा तोकेको जानकारी दिए । त्यसैगरी, २० किलोमिटरको ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथिको ३५ रुपैयाँ भाडा तोकिएको छ । मन्त्रालयले वाग्मती प्रदेशभित्र सञ्चालन हुने छोटो दुरी र स्थानीय यातायातका साधनको भाडा बढाएको हो ।
अब काठमाडौं उपत्यकाका यात्रुले सार्वजनिक यातायातका साधन चढ्दा कम्तीमा १८ रुपैयाँ र बढीमा ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ ।









