काठमाडौं– १० करोडसम्मको सार्वजनिक निर्माणको काम श्रम सहकारीमार्फत गराउने कार्यविधि चाँडै आउने भएको छ । यो व्यवस्था कार्यान्वयन भए हजारौंको संख्यामा मुलुकभित्र रहेका साना र मझौला निर्माण व्यवसायी प्रभावित हुने देखिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयबीच आइतबार भएको छलफलमा उक्त कार्यविधि चाँडै टुंगो लगाएर १० करोडसम्म बजेटको निर्माण कार्य श्रम सहकारीमार्फत सुरु गरिने बताए । यसबाट देशमा थप ५ लाख रोजगारी सिर्जना हुने अर्थमन्त्रीको अनुमान छ । उपभोक्ता समितिबाट भन्दा श्रम सहकारीबाट यस्तो काम गराउनु संस्थागत हुने र वास्तविक श्रमिक लाभान्वित हुने उनको भनाइ छ ।

छलफलमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माण कार्यको ठेक्कासम्बन्धी कागजातमा दिउँसो र राति गरी २ सिफ्टमा काम गर्नुपर्ने सर्त थपिने जानकारी दिए । ‘दिनमा एक सिफ्ट मात्र काम गरेर पुँजीगत खर्च बढाउन सकिँदैन । पुँजीगत खर्च भएन भने आर्थिक वृद्धिको लक्ष हासिल गर्न कठिन हुन्छ । विकास निर्माणको काम पनि तोकिएको समयमा सम्पन्न हुँदैन,’ उनले भने, ‘रात्रि सिफ्टमा बत्ती बालेर भए पनि काम गर्नुपर्यो, हामीले पनि बेला बेला नसुतेरै भए पनि अनुगमन गर्नुपर्यो ।’

निर्माण कम्पनीलाई उसको कार्य क्षमताभन्दा बढी संख्यामा ठेक्का दिएर पनि आयोजना अलपत्र परेको भन्दै उनले अब यसलाई पनि कानुन सच्याउने तयारी रहेको जानकारी दिए । यस्तै, मन्त्री शर्माले आयोजना बन्नै नसक्ने गरी न्यून कबोल गरेर ठेक्का हात पार्ने तर काम नगरेर आयोजना लथालिंग पार्ने परिपाटीको समेत अन्त्य गरिने बताए ।

मन्त्री शर्माले हाल बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरु सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी समेत दिए । धागो उद्योग, कपडा उद्योग, रबर उद्योग, चुरोट कारखाना लगायत बन्द अवस्थाका उद्योगहरु नयाँ मोडालिटी बनाएर सञ्चालन गरिने उनले बताए । ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्राविधिक विधाका विद्यालयमा सुरु गर्ने, सहकारीले कम्पनी खोलेर लगानीको ५० प्रतिशत उत्पादनको क्षेत्रमा लगाउने जस्ता कार्यक्रम तत्काल सुरु गर्ने गरी प्रक्रिया अघि बढाउन आवश्यक सहजीकरण गर्न निर्देशन दिए ।

अर्थले बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायसँग छलफल गर्ने क्रममा आइतबार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको हो । बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न पुँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रमहरु तत्काल सञ्चालन गर्ने गरी काम अघि बढाउनमा जोड दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय