काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी रबिना थापाले आफ्ना प्रतिस्पर्धीहरु भोट तान्ने चलखेलमा लागेको बताएकी छिन् । कुन उम्मेदवार कस्तो चलखेलमा लागेका छन् भनेर चाहिँ उनले खुलाएकी छैनन् ।

उनले आइतबार एक विज्ञप्ति जारी गर्दै आफू चाहिँ समाज सेवाको काममा व्यस्त भएको दाबी गरेकी छिन् । अध्यक्षका अन्य प्रतिस्पर्धी मतदाता आकर्षित गर्ने चलखेलमा लागिरहँदा थापा भने सामाजिक काममै व्यस्त भइरहेको उनको सचिवालयले जनाएको छ । ‘धेरै वर्षदेखि व्यक्तिगत रुपले र विभिन्न संस्थाहरुको संरक्षक भएर समाजसेवामा तल्लीन उनले अहिले त्यसैलाई निरन्तरता दिरहेको बताएकी छिन्,’ विज्ञप्तिमा भनिएको छ ।

उनले देशका विभिन्न ठाउँमा पुगेर पाठेघर र स्तन क्यान्सरको निःशुल्क परीक्षण कार्यक्रम गर्न लागेकी छन् । गैरआवासीय नेपाली दिवसको अवसर पारेर महिला तथा युवा विभागको संयोजकत्वमा र स्थानीय तहमा पोखरामा अन्तर्राष्ट्रिय कास्की समाज र म्याग्दीमा मोना संस्थाको सहयोगमा निःशुल्क पाठेघरसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्न लागेकी हुन् । उक्त शिविरमा स्तन क्यान्सर सम्बीन्ध परीक्षण पनि हुने अध्यक्ष पदकी उम्मेदवार थापाले जानकारी दिएकी छन् ।

एनआरएनएको चुनावमा व्यस्त हुँदाहुँदै पनि उनले समाजसेवालाई पहिलो प्राथमिकतामा राखेको बताएकी छन् । चुवानी प्रचारप्रसारमा भन्दा पनि समाजलाई कसरी टेवा पुर्याउन सकिन्छ भनेर आफूले समय दिइरहेको उनले बताइन् । एनआरएनएलाई अझ बढी सम्बृद्ध बनाउन रोजगारी सिर्जना गर्ने, मताधिकारको अधिकार सबैले पाउने जस्ता उनको अजेन्डामा एनआरएनएका सदस्यहरु उत्साहित भएको विज्ञप्तिमा दाबी गरिएको छ ।

उनले यसअघि चितवनको आदर्श महिला विकास केन्द्रलाई बालिका तथा महिला सशक्तीकरणको अभियान चलाउन ४ लाख १५ हजार ७ सय रूपैयाँ नगद सहयोग हस्तान्तरण गरिसकेकी छन् ।

लुम्बिनीमा पर्यटन प्रवर्द्धनका लागि विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन् । उनले शनिबार बेनीबजार, म्याग्दीमा स्वास्थ शिविर सञ्चालन गरेको र आइतबार कास्कीको साराङकोटमा शिविर चलाएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर