काठमाडौं– विद्युत् नियमन आयोगले बिजुलीको नयाँ महसुल तर तोकेको छ । आयोगले निश्चित युनिट खपत गर्ने घरासयी ग्राहकले तिर्नुपर्ने महसुल घटाएर नयाँ तर तोकेको छ । आयोगले नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ महसुल दरमा केही संशोधन गरी नयाँ दर तोकेको हो ।
आयोगको बैठकले बर्खा र हिउँदका लागि छुट्टाछुट्टै महसुल दर निर्धारण गरेको छ । प्राधिकरणले औद्योगिक ग्राहकको डिमान्ड शुल्क प्रतिकेभिए मासिक सय रुपैयाँ बढाउन प्रस्ताव गरेकोमा आयोगले यथावत राख्ने निर्णय गरेको छ ।
औद्योगिक ग्राहकको १३२ केभीको मासिक डिमान्ड शुल्क दुई सय २० रुपैयाँ छ । आयोगले ६६ केभीको औद्योगिक ग्राहकको लागि मासिक २४० रुपैयाँ डिमान्ड शुल्क कायम गरेको छ ।
औद्योगिक ग्राहकको पिक आवरको विद्युत् महसुल पनि यथावत राखिएको छ । पिक आवरमा साँझ ५ देखि राति ११ बजेसम्म औद्योगिक ग्राहकको विद्युत् महसुल साबिकको प्रतियुनिट १० रुपैयाँ नै कायम गरिएको छ । आयोगले २० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय गरेको छ ।
यसअघि १० युनिट खपत गर्ने ग्राहकलाई निःशुल्क थियो । आयोगले १०१ युनिटदेखि २५० युनिटसम्म खपत गर्ने ग्राहकसँग लिने प्रतियुनिट १० रुपैयाँ महसुल दरलाई घटाएर ९ रुपैयाँ ५० पैसा कायम गरेको छ । २५० युनिटभन्दा धेरै बिजुली खपत गर्ने ग्राहक प्रतियुनिट १२ रुपैयाँलाई ११ रुपैयाँ बनाइएको छ । आयोगले विद्युत् खपत घरासयी ग्राहकको महसुल दर घटाएको हो ।









