काठमाडौं– बिमा समितिले गत असोज ६ गते सबै निर्जीवन बिमा कम्पनीको लागि जारी गरेको गैरशुल्क बिमा व्यवसायका लागि न्यूनतम प्रिमियम दरसम्बन्धी परिपत्रबाट निर्जीवन बिमाको प्रिमियम बढाएर न्यूनतम सीमा तोकेकोमा नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ ।
महासंघले बुधबार एक विज्ञप्ति जारी गरी खुला बजार अर्थ व्यवस्थामा नियामक निकायद्वारा प्रिमियम वृद्धि गरी सोही दरलाई न्यूनतम सीमा तोकिँदा एकाएक आयोजनाको लागत बढ्न जाने जनाएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायत आयोजना निर्माणमा संलग्न संघ–संस्था एवं उद्यमी व्यवसायीका अनुसार बिमा समितिले जारी गरेको निर्देशनमा बिमाको प्रिमियम शुल्क भुक्तानी गरे पनि बिमितले बिमकबाट दाबी भुक्तानी पाउन नसक्ने खालका विभिन्न सर्त राखिएका छन् । यस विषयमा सबै सरोकारवालासँग अविलम्ब छलफल गर्न महासंघले माग गरेको छ ।
त्यसैगरी, बजारमा प्रतिस्पर्धा निरुत्साहित हुने गरी नियामक निकाय समितिद्वारा निर्जीवन बिमा कम्पनीलाई गैरशुुल्क बिमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर सम्बन्धमा निर्देशन जारी गरेको भन्दै सोमा पुनरावलोकन गर्न पनि महासंघले आग्रह गरेको छ ।
खुला बजार अर्थ व्यवस्थामा प्रतिस्पर्धाद्वारा मूल्य निर्धारण हुने हुँदा न्यूनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ । साथै, अर्थतन्त्र पुनरुत्थानका लागि लगानी प्रवर्द्धन र रोजगारी सिर्जना हुने व्यावसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघले आग्रह गरेको छ ।









