काठमाडौं– उत्तरी नाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात हुन थालेको छ । सहरी क्षेत्रलाई लक्ष्य गरी आयातित २२ वटा माइक्रोबस बुधबार साँझसम्म नेपाल भित्रिएका हुन् । माइक्रोबसको सिट क्षमता १२ रहेको छ । साउनयता यो नाकाबाट नौ सय विद्युतीय सवारी साधन आयात भइसकेको भन्सार कार्यालयले जनाएको छ ।

चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दसैंलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए । दसैंअअघि सयवटा विद्युतीय कार आयात भएका थिए । पछिल्लो समय माइक्रोबस आयात हुने क्रम बढेको भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

सहरी क्षेत्रलाई लक्ष्य गरी आयात गरिएका माइक्रोबसको ग्राउन्ड क्लियरेन्स कम भएका कारण कच्ची सडकमा गुडाएर काठमाडौं पुर्याउन निकै चुनौती रहेको सवारी चालकले प्रतिक्रिया दिएका छन् । रसुवागढीदेखि गल्छीसम्मका अधिकांश सडकमा बढी खाल्डाखुल्डी भएकाले साना र होचा सवारी साधन सहजरूपले लैजान बढी असहज हुने गरेको बताइन्छ ।

दसैंअघि आयात भएका सानाखाले केही सवारी साधन भने सवारी धनी एवं उनका प्रतिनिधि नपुग्दा भन्सार हातामा थन्किएका छन् । विद्युतीय सवारी साधनको आयातले प्रदूषणको न्यूनीकरण एवं सहरी क्षेत्रमा वातावरणको स्वच्छता बढ्ने र पेट्रोलियम पदार्थबाट चल्ने यात्रुबाहक साधन क्रमिक रूपले हट्दै जाने बताइएको छ ।

विद्युतीय सवारी साधनको ब्याट्री एकपटक चार्ज गरेपछि चार घन्टासम्म गुडाउन पुग्ने र आवाज नआउने हुँदा यी सवारी साधन सहरी क्षेत्रको यात्राका लागि निकै उपयोगी मानिन्छन् ।

गत साउनयता ९०० भन्दा बढी सानाठूला सवारी साधन आयात भएको भन्सार कार्यालयले जनाएको छ । आयात भएका सवारी साधनबाट नियमानुसार भन्सार शुल्क बापत ६५ करोडभन्दा बढी राजस्व दाखिला भइसकेको भन्सार अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय