महोत्तरी– तिहार (दिपावली) पर्व आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ ।

मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो ।

कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई मिथिलामा ‘धनतेरस’ भनिन्छ । यस दिन नयाँ धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने मैथिल परम्परा छ ।

आज बिहान ९ बजेअघि नै त्रयोदशी तिथि प्रारम्भ हुने हुँदा नक्षत्रादिको भोगले बिहान ११ बजेपछि धातुका नयाँ सामान किन्न शुभ हुने मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बर्दिबास नगरपालिका–२ का महेशकुमार झा बताउँछन् ।

घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ । मिथिलामा मिथिला पञ्चांग र विद्यापति पञ्चांगका आधारमा तिथि, बार, नक्षत्र एवं चाडपर्वको छिनोफानो गरिन्छ । दुवै पञ्चांगमा आजै धनतेरस उल्लेख रहेको झाले बताए । कात्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धन्वन्तरी जयन्ती पनि आजै परेको छ ।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुसी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन् । मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ । सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ ।

पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड रहन्छ । मिथिलामा आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा हुने जनविश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय