वीरगन्ज– वीरगन्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको पहिलो चार महिनाका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा पाँच अर्ब बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८–७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि विभागले तोकेको लक्ष्यभन्दा यो करिब आठ प्रतिशत बढी भएको कार्यालयले जनाएको छ ।
सो अवधिका लागि विभागले ६५ अर्ब ११ करोड ४१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकामा कार्यालयले ७० अर्ब १२ करोड १४ लाख रुपैयाँ संकलन गरेको छ ।
कोरोना संक्रमण कम भएसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिन थालेपछि देशकै प्रमुख व्यापारिक नाका वीरगन्जबाट वस्तुको आयात र निर्यात बढेसँगै राजस्व संकलन बढ्दै गएको कार्यालयका सूचना अधिकरी सुमित गुप्ताले जानकारी दिए । उनले चालु आवको पहिलो चौमासिकमा वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने सवारी साधनको आयातबाट संकलित राजस्व २८ प्रतिशत र पेट्रोलियम पदार्थको आयातबाट संकलित राजस्व ३३ प्रतिशतले वृद्धि भएको बताउनुभयो ।
चालु आवको पहिलो चौमासिकका भन्सार महसुल लक्ष्यको तुलनामा पाँच प्रतिशत र मूल्य अभिवृद्धिकर २६ प्रतिशत बढी संकलन भएको कार्यालयले जनाएको छ । चालु आवको साउनदेखि कात्तिकसम्मका लागि विभागले भन्सार महसुल २४ अर्ब १२ करोड ७७ लाख संकलन गर्ने लक्ष्य दिएकामा २४ अर्ब ४१ करोड ८४ लाख संकलन भएको छ ।
मूल्य अभिवृद्धिकरको लक्ष्य २० अर्ब ८१ करोड २८ लाख रहेकामा २६ अर्ब ४८ करोड ९९ लाख संकलन भएको छ ।









