काठमाडौं– डिभी एजुकेसनको सहकार्यमा देशका विभिन्न भागमा पाँचवटा खुल्ला शारीरिक व्यायामशाला सञ्चालनमा आएका छन् ।
ट्रिटन सेकेन्डरी स्कुल, ट्रिटन कलेज, शुभश्री कलेज र सेफर्ड कलेज सञ्चालन गरिरहेको डिभीले नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स (एनवाइएफसी) सँगको सहकार्यमा ती व्यायाशाला निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

डिभीले गत वर्ष नोभेम्बरमा काठमाडौंको टोखामा पहिलो व्यायामशाला सञ्चालन गरेको थियो । व्यायामशाला शरीरको प्रार्थना गर्ने ठाउँ (मन्दिर) हो भन्ने मान्यताका साथ सञ्चालन गरिएको यो अभियानलाई ‘प्रोजेक्ट टेम्पल’ नाम दिइएको व्यायाशालाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डिभी एजुकेसनका म्यानेजिङ डाइरेक्टर तरुणप्रताप शाहले बताए ।

युवाहरू स्वस्थ भए परिवार, समुदाय स्वस्थ रहन्छ र समग्रमा देश नै स्वस्थ रहन्छ भन्ने सोचका साथ सुरु गरिएको यो अभियानले ‘खुसी र स्वस्थ समुदाय’को अवधारणामा काम गरिरहेको पनि उनले बताए ।

देशका सबै प्रदेशमा व्यायाशाला खोल्ने लक्ष्य राखेको यो अभियानले हालसम्म टोखा सहित ५ ठाउँमा व्यायामशाला सञ्चालनमा ल्याइसकेको छ ।

पाँचमध्ये काठमाडौंको नक्सालमा देशकै सबैभन्दा ठूलो व्यायामशाला सञ्चालनमा छ । पोखरा, चितवन र विराटनगरमा पनि व्यायामशाला सञ्चालनमा भइसकेका छन् । हरेक व्यायामशालामा सरदर साढे दुई लाख लगानी गरी आवश्यक पूर्वाधार तयार गरेको शाहले जानकारी दिए । अन्य ५ ठाउँमा पनि छिट्टै व्यायामशाला सञ्चालन गर्ने उनले बताए ।

ती व्यायामशालामा निःशुल्क व्यायाम गर्न पाइने एनवाइएफसीका अध्यक्ष सुकदेव कार्कीले बताए । उनका अनुसार व्यायामशालामा हप्तामा दुईपटक निःशुल्क व्यायाम प्रशिक्षण हुन्छ । प्रशिक्षण शिविरमा ८० देखि सयजनाको सहभागिता रहने गरेको उनले बताए ।

क्यालिस्थेनिक्स आफ्नै शरीरको वजन प्रयोग गरेर गरिने व्यायाम हो । कार्की यसलाई सबै व्यायामको आधार भन्छन् ।

यो अभियानको उद्देश्य सरकारको खुल्ला व्यायामशाला बनाउने नीतिमा निजी क्षेत्रको सहभागितामार्फत सेवा दिनु पनि रहेको डिभीका शाहको भनाइ छ । ‘हामीले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि व्यायामशाला सहयोगी हुने विश्वास लिएका छौं,’ उनी भन्छन्, ‘युवामा नकारात्मक सोच तथा लागू पदार्थको दुर्व्यसन जस्ता लतमा रहेकालाई त्यसबाट छुटकारा दिन र त्यो बाटोमा लाग्न नदिन खुल्ला व्यायामशालाले महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ ।’

आगामी दिनमा सबै व्यायामशालामा निःशुल्क वाइफाईको पनि व्यवस्था गरिने शाहले जानकारी दिए । डिभीले कोरोना महामारीबाट विश्व नै आक्रान्त भएको बेला शारीरिक व्यायाममार्फत युवामा थोरै भए पनि सकारात्मक सोच र उत्साह थप्न खुल्ला शारीरिक व्यायामशाला सञ्चालनको अवधारणामा काम गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय