काठमाडौं– चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५.४५ प्रतिशतले बढेको छ । गत आवको सुरुको चौमासिकमा चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको मुलुुकको वैदेशिक व्यापार चालु आवको सो अवधिमा सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख आठ हजार पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको तुलनामा आयात ६१.५७ प्रतिशतले बढेको छ । गत आवको पहिलो चार महिनामा चार खर्ब दुई अर्ब ४९ करोड एक लाख ७८ हजार मूल्य बराबरको आयात भएकामा चालु आवको सोही अवधिमा ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख १३ हजार पुगेको छ ।
त्यस्तै, गत आवको पहिलो चौमासिकका तुलनामा चालु आवको निर्यात १०४.२९ प्रतिशतले बढेको छ । गत आवको पहिलो चौमासिकमा ४० अर्ब दुई करोड ६४ हजारको निर्यात भएकामा चालु आवको सो अवधिमा ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजारको निर्यात भएको छ ।
विभागका अनुसार चालु आवको कात्तिकसम्म व्यापार वृद्धि भए पनि मुलुकको व्यापार घाटा ५६.८३ प्रतिशतले बढेर पाँच खर्ब ६८ अर्ब १७ करोड १८ हजार पुगेको छ । गत आवको पहिलो चार महिनामा व्यापार घाटा तीन खर्ब ६२ अर्ब २९ करोड एक लाख १३ हजार थियो ।
गत आवको पहिलो चौमासिकसम्म कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.९२ प्रतिशत रहेकामा यस्तो हिस्सा २.३४ प्रतिशत बिन्दुले घटेर चालु आवमा ८८.७९ प्रतिशतमा आएको छ ।
चार महिनामा मुलुकको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको विभागले जनाएको छ । चालु आवको पहिलो चार महिनामा ३४ अर्ब ३३ करोड २१ लाख ९७ हजार बराबरको डिजेल आयात भएको छ । त्यस्तै, आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ ।
नेपालमा व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनः निर्यात गरिरहेका छन् । चालु आवको पहिलो चार महिनामा २७ अर्ब २२ करोड ७१ लाख ९५ हजार रुपैयाँ बराबरको १७ करोड लिटरभन्दा बढी भटमासको तेल आयात भएकोे छ । त्यस्तै टेलिफोनका उपकरण २० अर्ब ३५ करोड ८६ लाख १६ हजार, पाम आयल १९ अर्ब १७ करोड ५७ लाख २८ हजार र पेट्रोल १८ अर्ब ६६ करोड ६५ लाख ९४ हजारको आयात भएको विभागले जनाएको छ । नेपालबाट निर्यात भएका वस्तुमा भटमासको तेल सबैभन्दा धेरै छ ।
विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मुलुकबाट २६ अर्ब ४० करोड ११ लाख एक हजार मूल्य बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थ विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा तेल निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलले योगदान गरेको देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि हो ।
सार्वजनिक विवरण अनुसार चालु आवको पहिलो चार महिनामा १९ अर्ब दुई करोड ३० लाख ९० हजार मूल्यको पाम तेल निर्यात भएको छ । तीन अर्ब ९३ लाख १७ हजार बराबरकोे गलैंचा तथा दुई अर्ब ३१ करोड ५५ लाख ७८ हजार मूल्यका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्यांक छ ।
सबैभन्दा धेरै वीरगन्ज नाकाबाट दुई खर्ब २३ अर्ब ९० करोड ५० लाख ७४ हजार मूल्यको र भैरहवा नाकाबाट एक खर्ब ६ अर्ब ४८ करोड ८३ लाख ३० हजार बराबरको वस्तु आयात भएको छ । त्रिभुवन विमानस्थल नाकाबाट ८१ अर्ब ७० करोड ९१ लाख ५६ हजार बराबरको वस्तु आयात भएको छ ।
निर्यातमा वीरगन्ज भन्सारबाट ३९ अर्ब ५६ करोड ३४ लाख ५० हजार, विराटनगर भन्सारबाट २२ अर्ब ५१ करोड ४७ लाख ५२ हजार तथा त्रिभुवन विमानस्थल नाकाबाट ११ अर्ब ७५ करोड ४१ लाख ३५ हजार बराबरको वस्तु विदेश गएको छ ।









