काठमाडौं– सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने गफलाई विश्वास गर्दा नेपाली नागरिक करोडौं रकम ठगिन पुगेका छन् । परिवार र नातागोतामा समेत यसरी सापटी रकम दोब्बर दिन्छु भन्दा पत्याउन गाह्रो हुने अवस्थामा चिन्दै नचिनिएका र कहिलै भेटघाट नभएका मान्छेप्रति कसरी विश्वास गर्न सकिएको होला ? यस्तै घटना हुँदा एक करोड २२ लाख ठगिन पुगेको रहस्य प्रहरीले पत्ता लगाएको छ ।
उक्त ठगीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका–१३ ताहाचलका २८ वर्षीय रोजन भुजेल छन् । उनीहरुलाई विभिन्न मितिमा काठमाडौँबाट पक्राउ गरी कानुनी कारबाही थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उक्त सूचना आएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा बेन्जामिन फ्रयांकलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लास्टिक सर्जन डाक्टर भएको र कोर्सका लागि मलेसिया आएकामा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोब्बर रकम फिर्ता दिने प्रलोभन देखाएका थिए ।
ती विदेशी नागरिकले प्रलोभन देखाई भण्डारी र भुजेलसमेतको बैंक खाता नम्बर प्रयोग गरी विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खातामा ७८ लाख, भुजेलको नामको नविल बैंकको खातामा नगद नौ लाख ५० हजार र अन्य मानिसबाट थप रकमसमेत गरी ठगी गरेको खुल्न आएको छ । उनीहरुलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले सूचना जारी गरी जनाएको छ ।









