धुन्चे– रसुवा भन्सार कार्यालयबाट ४ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन हुँदा निर्यात शून्य भएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीबाट उक्त राजस्व संकलन भएको हो ।

प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार ६ महिनाको अवधिमा ४ अर्ब ३३ करोड ४५ लाख ९ हजार रुपैयाँ संकलन भएको छ । कोभिड संक्रमण सुरू भएपछि चिनियाँ पक्षले दैनिक नौवटा कन्टेनरमार्फत रसुवागढीको मितेरी पुल छेउमा सामान ल्याइदिने गरेको छ । व्यापारी, व्यवसायी र निजी कम्पनीमार्फत आयात गरिएका सामग्रीमा लाग्ने शुल्क बापतको राजस्व असुली भएको हो । चीनतर्फ जाने निर्यात भने शून्य छ ।

दुई आर्थिक वर्षको राजस्व असुली तुलनात्मक रुपमा हेर्दा यस वर्ष झण्डै साढे दुई गुनाले बढेको छ । गत वर्षको यस अवधिमा एक अर्ब ७२ करोड २४ लाख दुई हजार मात्र असुली भएको थियो । साना–ठूला सबै प्रकारका सवारी साधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोशाक, जुत्ताचप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता विविध सामग्री आयात भइरहेको भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

यस वर्षको वार्षिक असुली लक्ष्य भने ६ अर्ब ८१ करोड ११ लाख रुपैयाँ छ । सवारी साधन बढी मात्रामा आयात हुन थालेसँगै राजस्वमा वृद्वि हुन थालेको हो । गत वर्षदेखि हालसम्म जुमक्रेन, टिपर, एम्बुलेन्स, माइक्रोबस, मिनीबस, जीप तथा कार समेतका एक हजारभन्दा बढी सवारी आयात भइसकेको बताइन्छ । कोरोना संक्रमण नियन्त्रणका लागि सामान पल्टी गर्दा क्वारेन्टिनमा राखिएका कामदार मात्र मितेरी पुलमा परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय