निर्वाचनहरू आउँदै छन्, एक–एक गर्दै।संवत् २०७९ निर्वाचनमय हुनेछ।स्थानीय तहको निर्वाचन वैशाख ३० लाई तोकी सकिएको छ।प्रदेश र संघका चुनाव यसै वर्षभित्र सम्पन्न भइसक्नुपर्ने छ।मतदाता संख्या १ करोड २२ लाखबाट ह्वात्तै बढेर करिब १ करोड ७७ लाख पुगेको छ।थपिएका मतदातामा निश्चय नै अधिकांश, २०७४ सालपछि, यही चार वर्षबीचमा उमेर पुगेका तन्नेरीहरू पर्दछन्।तन्नेरीहरूबाट नेतृत्वमा पात्र परिवर्तन र कार्यप्रदर्शनको आशा धेरै गरिए पनि विगतका परिणाम हेर्दा त्यस्तो देखिएको छैन।

जनस्तरमा पुस्ता परिवर्तन भइसक्दा पनि परिवर्तित पुस्ताले नयाँ नेतृत्व ल्याउन नसक्नु विचारणीयमात्र होइन, गम्भीर चिन्ताको विषय हो।ऊर्जाशील जनशक्तिले नित्य सृजनको मार्ग अवलम्बन गर्नुपर्ने तर यो जनशक्ति अनिर्णय र गलत निर्णयको बन्दी बन्नु, निहित स्वार्थसिद्धिमा तल्लीन राजनीतिज्ञहरूद्वारा दुरुपयोग भइरहेकै कारण मतदातामा तन्नेरी थपिए पनि उनीहरू नेतृत्वमा नयाँ र यथेष्ट अर्थपूर्ण प्रतिनिधि छानिरहेका छैनन्।पछिल्ला निर्वाचनहरूले यही देखाएको छ।

हालैको प्रसंग हेर्ने हो भने मंसीरमा सम्पन्न नेपाली कांग्रेस महाधिवेशनमा क्रियाशील सदस्यमा नयाँको वर्चस्व भएको देखिइरहँदा र भनिरहँदा नेतृत्व चयनमा भने नवोन्मेष देखा परेन।लोकतान्त्रिक भनिने कांग्रेसको यो हाल छ भने कम्युनिस्ट पार्टीहरू, एमाले र माओवादी केन्द्रमा साविकै प्रमुख दोहोरिए।

एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) ले पनि नयाँ नेतृत्व दिएन।राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमाचाहिं बरू परिवर्तन भयो, तर पात्र बदलिए पनि प्रवृत्ति पश्चगामी नै निरन्तर भएकाले उसलाई कसरी लिने, यो प्रश्न अनुत्तरित छ।

भनिसकियो मूलप्रवाहका स्वकथित परिवर्तनका संवाहक भनिएका पार्टीहरूले पुरानै नेतृत्व दोहोर्‍याए।

मतदाता थपिए, पार्टीका सदस्यमा नयाँ आए तर कस्तो पद्धति हो यो, प्रश्न उठ्छ, शासनमा, प्रतिनिधित्वमा, पार्टीको नेतृत्वमा उनै मान्छे बारम्बार दोहोरिन्छन् ? पद्धति अग्रगामी भनिरहँदा मान्छे पुरानै दोहोरिनुमात्र होइन, आफू दोहोरियैपिच्छे नयाँ सोचाइका शत्रु बन्छन्।चुनावले दिएको वैधतालाई अधिनायकत्वका लागि अनुमोदन ठान्छन् र पहिलाभन्दा पनि अरू अनुदार बन्छन्।राज्यशक्तिलाई निजी सम्पत्तिझैं खेलाएर बस्नु आफ्नो स्वतःसिद्ध अधिकार ठान्छन्।व्यवहारमा अरू अभद्र, अशिष्ट र असभ्य बन्छन्।देश वर्षौं यही नियति भोगिरहेको छ।तीन चारजना नेताका वरीपरी वर्षौं सत्ता ओहोरदोहोर हुन्छ, भइरहेको छ।

पार्टी कि प्राइभेट लिमिटेड कम्पनी !

देशका राजनीतिक दलहरू प्राइभेट लिमिटेड कम्पनी जस्ता छन्।नेता भनिने नमरुञ्जेल पद ओगटी रहन्छन्, कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)को जमानामा टाइपराइटरको बिम्बमा बाँचेका छन् तर बाहिरिँदैनन्। फाइभ जी भनिने पुस्ता उही टाइपराइटर बिम्बकै प्रवचन सुनेर बसेको छ। एउटा यस्तो तप्का छ, डिजिटल लेख्छ तर विरोधाभास हेर्नुहोस्, आइफोन लिएर पछ्याउँछ, केपी शर्मा ओली (बा), शेरबहादुर देउवा र पुष्पकमल दाहाल माने प्रचण्ड।

मेरो यी बा, देउवा, प्रचण्डप्रति कुनै द्वेष होइन। कुरा यति मात्र हो, उनीहरूको परख भइसक्यो र उनीहरूले गर्न सक्ने भनेको जति गरे पनि त्यति नै हो, आफ्नै घेराभित्रकाको तुष्टि हो।उनीहरू अग्रस्थानमा रहुञ्जेल भइरहने यस्तै हो।उनीहरूबाट अझ पनि आश गर्नु अनुचित हो, स्वयं उनीहरूप्रति र आफैँप्रति पनि।

गफाडीको गुणगान

अब भनिरहनु नपर्ला यस परिवेशमा केही गर्नै पर्छ भन्नेले गर्न पाउँदैन, कि पलायन हुन्छ कि मरिच चाउरिएझैं चाउरिएर बस्छ।राज्य, मान्छे निर्यात गरेर वस्तु आयात गर्छ।नेता जसले नेतृत्व दिनुपर्ने हो नवोन्मेषको संवाहक बन्नुपर्ने हो, ऊ सार्थक केही नै नगरी गफ चुटेर बस्छ, गफैले चमत्कारै गरिदिन्छु भन्छ र तन्नेरीहरूको पंक्तिचाहिं विडम्बना हेर्नुहोस्, ‘बा…. बा’ भन्दै आकाशै फुटाउँला जसरी चिच्याउँछ।बालाई बोल्न अचाक्ली आउँछ।उनैका कुरा पत्याउने अनुयायी छन्, जजयकार उनैको गर्छन्। हुल थपिन्छ, हुलैले पछ्याउँछ।गफाडीको गुणगानमा रमाउने, अरू त अरू, स्वनामधन्य बुद्धिजीवीहरू पनि छन् ।

कस्तो पद्धति हो जहाँ मान्छे युक्तिसम्मत, तर्कसम्मत विमर्श नगरेर हो होमै मतदान गर्छ। जसले आफैँले पाएको जनादेशको रक्षा गर्न सकेन, उही गफ चुट्दै हिँड्छ।उसको प्रशंसामा ठेलीका ठेली आलेख, अग्रलेख प्रतिदिन प्रकाशित पनि भइरहेका छन्।सामाजिक सञ्जालमा साइबर सेना उसैको पक्षमा सक्रिय छ।यो साइबर सेनाको काम हो, कुनै पनि सार्थक र तर्कसंगत विमर्शविरुद्ध अपशब्द वर्षाएर, उन्नत विमर्शको बाटो छेक्नु, नवप्रवर्तनलाई निरुत्साहित गर्नु।

विडम्बना पनि कस्तो यति हुँदाहुँदै पनि आफैँ आफ्नो दुईतिहाइको सरकार भताभुंग पारेर बालुवाटारबाट बाजा बजाउँदै लावालस्करसहित बालकोट जाने पूर्वप्रधानमन्त्री ओलीलाई बोलीले ठेगान लगाउन सक्ने कोही छैन।उल्टै सबैभन्दा शक्तिशाली नै उनै भन्ने सन्देश दिँदै सिद्धान्तै नमिल्नेहरू गठबन्धन गरेर चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गर्दै छन्।उनीहरूको जिकिर छ, यसो गर्दा संविधान जोगिन्छ, लोकतन्त्रको रक्षा हुन्छ ।

अनि उनकै पार्टीतिर हेर्नुहोस्, आफूले पाएको जनादेशको रक्षा गर्न नसक्ने, गर्नै नमिल्ने विघटन गर्ने नेतालाई प्रश्न त परै तुमुल ध्वनिले उनैको जयजयकार गरिरहेका छन्।कार्यप्रदर्शन गर्नु छैन, आफ्नो प्रधानमन्त्रित्वमा भएका चलन, अपचलनको अडिट अर्थात् परीक्षण छैन।पहिलाका चुनावपूर्व केकस्ता आश्वासन दिइएका थिए, ती आश्वासन कति प्रतिशत पूरा भए, कि हुँदै भएनन्, तिनको लेखाजोखा, स्वपरीक्षण नगरी अझै बडेमानका गफ ! आश्वासनको भारी र प्रगतिका नाममा भ्यू टावर उद्घाटन !

यो सबै देखिरहँदा पार्टीपंक्तिमा विवेकसम्मत मान्छे हुन्थे भने प्रश्न त गरिनुपर्ने हो, तर गरिँदैन।पार्टीपंक्ति नै अमलेख नमाग्ने दास हो भन्ने प्रतीत हुन्छ।यो प्रवृत्ति एमालेमा मात्र होइन, सबै पार्टीमा विद्यमान छ।मान्छेलाई दासत्वको अभ्यास गराउने यो कस्तो पार्टी प्रणाली ? लोकतान्त्रिक पद्धतिको पार्टी प्रणाली यस्तो हुनै सक्दैन तर यहाँ लोकतन्त्र भनी भनी दासत्वकै अभ्यास भइरहेको छ।ओलीको पार्टीचाहिँ साक्षात् दृष्टान्त हो, अरू पार्टी पनि यस मामिलामा उनैको पार्टीका अनुयायी हुन्।

यसर्थ चुनाव आइरहेको छ, आइरहेका छन् भनेर मात्र भएन, पार्टी प्रणालीमाथि पनि गम्भीर विमर्श हुनुपर्छ।पार्टी प्रणालीमाथि विमर्श नगरी सही उम्मेदवारको छनोट हुन सक्दैन।त्यसैले यहाँ के कुरा मान्नै पर्छ भने पार्टी प्रणालीमै गम्भीर त्रुटी छ।त्रुटी नभइ स्वयं दासत्व रोजेकाहरूको हूललाई पार्टीपंक्ति भन्नुपर्ने अवस्थै आउँदैनथ्यो र जब दासत्व रोजेकाहरू बीच प्रतिस्पर्धा हुन्छ, त्यस्तो चुनावबाट आउने प्रतिनिधि कस्तो हुन्छ, यो भनिरहनै परेन।चुनावपश्चात् कार्यप्रदर्शन खोज्न पार्टी प्रणाली सही हुनु पर्‍यो, तब बल्ल सही प्रतिनिधि छान्ने अवसर उपलब्ध हुने हो।

जनादेश बिनाको नेतृत्व

पार्टीबाट फर्केर सरकारतिर, सत्तातिर हेर्नुहोस्,  शासन गर्ने जनादेशै बिना कांग्रेस सत्ताको नेतृत्व गरिरहेको छ।शासन गर्न जनादेश पाएको दल आफैँ फुटेर जनताले प्रतिपक्षमा बस्न आदेश दिएको दललाई नेतृत्व प्रदान गर्ने अवसरमात्र होइन, सत्ता भिराएका छन्।जनादेश एउटा तर काम अर्को भइरहँदा पनि त्यसैलाई लोकतन्त्र भनिन्छ, भन्न लगाइन्छ भने पद्धतिको योभन्दा भद्दा मजाक अर्को हुन सक्दैन।त्यसैले पछिल्लो समयमा पद्धतिकै सम्बन्धमा, यसले शासनमा ल्याउने पात्र र प्रवृत्तिका बारेमा प्रचुर सवाल उपस्थित भएका छन्।यिनको सटिक उत्तर आएको छैन।

यसर्थ, लोकतन्त्रका आधार स्तम्भका बारेमा जनस्तरमा बहस, विमर्श अगाडि बढाउनुपर्ने हुन्छ।प्रबुद्ध नागरिकहरूबाट यी विषयमा केन्द्रित विचार, विश्लेषण भइरहे बल्ल सवालहरू अरू प्रखर रूपमा प्रकट हुने माहोल बन्छ।

यी सवाल गम्भीर छन् र यी नेपालले अवलम्बन गरेको राजनीतिक प्रणालीको सञ्चालनलाई लिएर मात्र प्रकट भएका होइनन्।संविधान, व्यवस्था आदि इत्यादिको धेरै प्रशंसा भएको छ तर राजनीतिक प्रणालीमात्र लोकतान्त्रिक भएर पात्रचाहिँ उनै शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, केपी शर्मा ओली र यस्तै, त्यस्तैहरू निरन्तर भइरहनुको तात्पर्य हो, कहीँ कतै पात्र ल्याउने प्रणालीमा गम्भीर त्रुटी छ।

यस्तोमा प्रणाली लोकतान्त्रिक छ भनेर व्याख्यान दिनुको खासै अर्थ छैन र यो प्रणाली यदि तिनै पात्र दोहार्‍याउने मार्ग प्रशस्त गरिरहन्छ भने यसको गुणगान गर्नु नै लोकतन्त्र, देश र मानवताकै लागि घातक छ।

व्यवस्थै बदलिंदा पनि पात्रहरूमात्र होइन प्रवृत्तिमा केही परिवर्तन हुन नसक्नु आफैँमा अष्टम आश्चर्य हो।अरू छोड्नुहोस्, निर्दलीय शासनकालका गनिएका मण्डले कमल थापा अझै रंग फेरि फेरि गणतन्त्रको राजनीतिमा छँदै छन्।निश्चय नै अधिनायकवादमा जस्तो लोकतन्त्र व्यक्ति निर्मूलीकरणमा विश्वास राख्दैन तर जनता सर्वेसर्वा भएको राज्यमा रंग फेर्दै आउने पात्रहरूलाई अनुमोदन किन गरिन्छ, कार्यकर्ता तिनै पात्रका झण्डा बोकेर किन हिँड्छन् भन्ने प्रश्न नगरी रहन सकिदैन।

दुर्दशाको चक्रबाट उन्मुक्ति

संक्रमणकालसम्म दोहोरिए पनि नयाँ निर्वाचन भएर पनि उनै दोहोरिने, दलहरूले तिनैलाई पुनः पुनः आफ्नै नेतृत्वमा दोहोर्‍याउनुको तात्पर्य हो, यो प्रणाली समग्र आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक वैशिष्ट्य सापेक्ष छैन र यसले नवसृजनलाई सहजीकरण गर्दैन भनेर बुझ्नु पर्छ।निर्वाचनको अभ्यास भइरहँदा यी विषयहरू पनि साथसाथै जनस्तरमा पुग्नु पर्छ, पार्टी प्रणाली र पद्धतिमाथि गम्भीर विमर्श हुनुपर्छ, किनभने यसले परन्तुमा केही न केही भिन्नता अवश्य ल्याउँछ।

साँच्चै लोकतान्त्रिक प्रणाली त प्रकृतिजस्तै न्यायसङ्गत, परिवर्तनलाई अङ्कमाल गर्दै अवस्थान्तरण (ट्रान्जिसन)लाई सहजीकरण गर्ने हुनुपर्ने, तर यहाँ त बेलायतमा जोन मेजर प्रधानमन्त्री हुँदा जो प्रधानमन्त्री थिए, आजसम्म फर्किफर्की तिनै भइरहेका छन्।

व्यक्ति नमरुन्जेल प्रधानमन्त्री, मन्त्री रुंगिरहने र फेरि तिनै दोहोरिने, त्यो पनि निर्वाचनको औपचारिकता पूरा गरेरै।देउवा भए, उनी हटेपछि को हुने भन्दा दाहाल कि नेपाल।उनीहरू नभए फेरि ओली नै बन्ने, नयाँका लागि मार्ग प्रशस्त नगर्ने प्रथालाई लोकतन्त्र भनेर यसकै अपमान भइरहेको छ।तीन चारजनाको सिन्डिकेट छ,  तिनै तीनचार जना प्रधानमन्त्रीको कुर्सीमा पालैपालो बस्छन्।यस्तो भइरहनु हुँदैन, रोकिनु पर्छ।

यसरी नै यस्तै चलिरहन दिने हो भने कार्यप्रधान राज्य कहिल्यै बन्दैन।कार्यप्रदर्शनले जाँचिने नेतृत्व आउँदैन।मान्छे निर्यात गरेर वस्तु आयात गर्ने घातक प्रथाबाट कहिल्यै मुक्त हुन सकिँदैन।पात्र र प्रवृत्ति दुबै नबदली दुर्दशाको चक्रबाट उन्मुक्ति सम्भव छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय