काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने भएको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो ।

जेठ १३ देखि १५ गते (तीन दिन) सम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाउनेछन् ।

यस विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी र आयोजक समितिका संयोजक तथा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले जर्सी सार्वजनिक गरे ।

क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले लिगका नियमबारे प्रकाश पारेका थिए । पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवकोटाले यस क्रिकेट लिगले बैंक तथा वित्तीय संस्थाहरुबीच भाइचारा, आत्मियता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्ने बताए ।

लिग कम नक आउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा कुल ३२ वटा खेल खेलिनेछन् । सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिनेछ, जसबाट समूहको उत्कृष्ट हुने दुई समूह क्वाटरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रतिइनिंग्सको हुनेछ ।

प्रतियोगितामा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, आइसिएफसी फाइनान्स, मेगा बैंक, ज्योति विकास बैंक, प्राइम बैंक, सानिमा बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, सनराइज बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता, उपविजेता टिम, रनर अप, म्यान अफ द सिरिज, बेस्ट बलर÷ब्याट्सम्यान, बेस्ट फिल्डर लगायत विभिन्न विधाका उत्कृस्ट खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगिताको सम्पूर्ण खेलको प्रसारण बैंकको आधिकारिक फेसबुक पेज तथा युट्युब च्यानल र विकेट नेपालमार्फत हुनेछ ।

२८औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले ग्राहक, सेयरधनी, नियमनकारी निकायलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको दौरानमा प्राप्त सहयोगप्रति बैंक आभारी रहेको जनाएको छ ।
बैंकले भविष्यमा अझ सरल, सहज र विश्वसनीय बंैकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय