काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले पूर्वका उद्योगी, व्यवसायीसँग भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष ०७९–८० को बजेटले जिआई वायर, घिउतेल र सेनिटरी प्याड उद्योगमा पारेको प्रभावबारे अर्थमन्त्री शर्मासमक्ष गुनासो राखेका थिए ।

त्यस क्रममा अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुकभित्रै औद्योगिकीकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताए ।

‘बजेटमार्फत व्यवसायीलाई कतै पनि अप्ठेरो पार्न खोजिएको होइन,’ उनले भने, ‘हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।’

आम महिलालाई राहत हुने गरी सेनिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको पाए समाधान निकाल्न तयार रहेको पनि उनले जानकारी गराए । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सिर्जना गर्नेलाई बजेटले सम्बोधन गरेको उनले बताए ।

बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको उनले प्रस्ट पारे । ‘बजेट तपाईंहरु (व्यवसायी) का लागि गरेको हो । देशका लागि गरेको हो,’ अर्थमन्त्री शर्माले भने, ‘हामीले स्वदेशी उद्योगलाई राम्रो गर्ने भनेर बजेटमा विभिन्न व्यवस्था गरेको हो ।’

छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नविन रिजालले वायर, घिउतेल तथा स्यानीटरी उद्योगमा बजेटले पारेको प्रभावका विषयमा छोटो प्रस्तुति दिएका थिए । उनले सरकारी नीति आउँदा आत्मसात गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । ‘हामी (व्यवसायी) लाई पनि पोलिसीले साथ दिनुस् । हामीले पनि बजेट आउँदा मुक्तकण्ठले प्रशंसा गर्ने स्थिति आओस्,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय