काठमाडाैं– कोभिड १९ महामारी र रसिया–युक्रेन युद्धको कारण विश्वको अर्थतन्त्रमा विस्तारै नकारात्मक असर पारेको छ। कोभिड १९ महामारी र रसिया–युक्रेन युद्धको कारण कमजोर वृद्धि र उच्च मुद्रास्फीति लामो समयसम्म रही रहने विश्व बैंकको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्टस’ प्रतिवेदनले जनाएको छ।

यसले मध्यम र न्यून आय भएका मुलुकहरूको मुद्रास्फीतिको जोखिम बढाउने प्रतिवेदनमा उल्लेख छ। विश्व बैंकको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्टस’ प्रतिवेदनको सन्दर्भमा अर्थविद् केशव आचार्यले हाल विश्व अर्थतन्त्र आर्थिक मन्दीतर्फ अघि बढेको बताएका छन्। महामारी र युद्धको कारण विश्वले अर्थतन्त्र चलायमान बनाई आर्थिक वृद्धिदरमा गति लिन सक्ने अवस्था रहेको बताउँदै अर्थविद् आचार्यले भने– हाल देखिएको समस्या भनेको उत्पादनको रहेको छ। उत्पादन यथास्थितिमा रहेको छ जसले गर्दा मुद्रास्फिति बढ्छ।

उनका अनुसार, अमेरिकी अर्थतन्त्रले विश्व बजारलाई प्रभाव पार्ने हुदाँ हालसम्म विश्व अर्थतन्त्रमा खतरा भने आइ सकेको छैन।

‘अमेरिकाको अर्थतन्त्र डराउनुपर्ने अवस्था छैन। उसको आर्थिक वृद्धिदर राम्रो रहेको छ। पछिल्लो सयम अमेरिकी संघीय बैंकले ब्याजदरमा वृद्धि गर्‍यो पुन ३ महिना पछि ब्याजदर बढाउने तयारी रहेको छ,’ अर्थविद् आचार्यले भने, ‘अमेरिकाले ब्याजदर वृद्धि तथा खुला बजारको धारण अघि सारेमा भने विश्व अर्थतन्त्रमा असर पर्छ। जसको प्रभाव नेपालमा पनि देखिन्छ। खुला बजारको अवधारणासँगै भारतीय लगानीकर्ताहरू त्यसमा आकर्षित हुने सम्भावना उच्च रहेको छ। जसले गर्दा भारतीय विदेशी मुद्रा सञ्चितिमा असर पर्छ। त्यसको असर नेपालमा पनि देखिन्छ।’

भारतीय लगानीकर्ताहरू अमेरिकी खुला बजारमा प्रवेश गर्दा त्यहाँको विदेशी मुद्रा सञ्चितिमा कमी आउँछ जसले गर्दा नेपाल–भारत विनिमय दरमा असर गर्छ। विनिमय दर वृद्धि हुँदा नेपाली मुद्रामा त्यसको असर देखिन्छ।

अर्कातर्फ आन्तरिक उत्पादनमा कमी हुँदा समेत बाह्य प्रभाव पर्ने निश्चित देखिने आचार्यको भनाइ छ। ‘उत्पादनसँग निर्यात हुन्थ्यो भने हाम्रो अर्थतन्त्र बिग्रने थिएन। तर हाम्रो आयातित अर्थतन्त्र छ। ४० प्रतिशतभन्दा बढी आयातित अर्थतन्त्र हाम्रो रहेको छ। खाद्यान्न, तरकारी लगायत अधिकांश सामग्री आयात गर्ने गरेका छौं, आयातले महँगी वृद्धि गर्दा भुक्तानी सन्तुलन बिग्रन्छ,’ उनले भने ।

‘ग्लोबल इकोनोमिक प्रोस्पेक्टस’ प्रतिवदेन अनुरूप विश्वव्यापी वृद्धि २०२१ मा ५.७ प्रतिशतबाट २०२२ मा २.९ प्रतिशत (जनवरी) मा घट्ने अपेक्षा गरिएको छ। सन् २०२२ मा वृद्धिदर क्रमशः विश्वको २.९ प्रतिशत, दक्षिण एसियाको २.६ प्रतिशत, युरोपको २.५ प्रतिशत, जापानको १.७ प्रतिशत, चीनको ४.३ प्रतिशत, इन्डोनेसियाको ५.१ प्रतिशतमा सीमित हुनेछ।

जुन २०२३–२४ मा पनि वृद्धिदर सीमित रहने छ यसको कारकको रुपमा रसिया युक्रेनको युद्धले निकट अवधिमा गतिविधि, लगानी र व्यापारमा बाधा पुर्रयाउने बताइएको छ। महामारी र युद्धबाट भएको क्षतिको परिणामस्वरूप यो वर्ष विकासोन्मुख अर्थतन्त्रमा प्रतिव्यक्ति आयको स्तर महामारी पूर्वको प्रवृत्तिभन्दा झण्डै ५ प्रतिशत कम हुनेछ। प्रतिवेदनले युद्ध र बन्दाबन्दीका कारण चीनको निर्यात च्यानलमा असर पार्दा वृद्धिदर असर पर्ने छ। त्यसैले गर्दा अबको उत्पादनमा वृद्धि र व्यापारका लागि हुने बन्देजहरू हटाउनु आवश्यक रहेको छ। यसका लागि मौद्रिक नीति परिवर्तित नीति आवश्यक रहेको छ। पुँजीको गलत विनियोजन र असमानतालाई विस्थापित गर्नु आवश्यक रहेको प्रतिवेदनले जनाएको छ।

यसैबीच सन् २०२२ को तुलनामा सन् २०२३ मा भने वृद्धिदर घटबढ हुने देखिएको छ। क्षेत्रगत हिसाबमा हेर्दा पूर्वी एशिया र प्रशान्त क्षेत्रमा २०२२ मा ४.४ प्रतिशत र २०२३ मा ५.२ प्रतिशत वृद्धि , युरोप र मध्य एसियामा २०२२ मा २.९ प्रतिशत र २०२३ मा १.५ प्रतिशत वृद्धि र दक्षिण एसियामा २०२२ मा ६.८ प्रतिशत र २०२३ मा ५.८ प्रतिशत वृद्धि हुनेछ। प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर सन् २०२२–२३ को लागि ४.१ प्रतिशत र २०२३–२४ का लागि ५.८ प्रतिशत हासिल गर्ने अनुमान गरेको छ।

यी सबै कुरा हुँदाहुँदै पनि युद्धका कारण लगानी, व्यापार तथा मौद्रिक नीतिमा असर परेको छ। महामारी र युद्धका कारण सन् २०२२ मा विकासोन्मुख मुलुकको प्रतिव्यक्ति आम्दानी ५ प्रतिशत भन्दा कमी हुनेछ।

यसरी हरेक मुलुकको वृद्धिदरमा कमी आउँदा युरोप तथा अमेरिकाले विकासतर्फ उन्मुख मुलुकहरूमा गरिने लगानीमा समेत कमी आउँछ र त्यसको विश्व अर्थतन्त्रलाई असर पर्ने देखिन्छ। जसले गर्दा ती मुलुकबाट दक्षिण एसियाली मुलुक विशेष गरी भारत, चीन लगायतको मुलुकमा आउने विदेशी लगानीमा कमी आँउछ जसले गर्दा भुक्तानी सन्तुलन, विदेशी विनिमयदर असर पार्दै अर्थतन्त्रमा नकारात्मक असर पार्ने अर्थविद् आचार्यले बताए । यसरी अर्थतन्त्रमा परेको असरले गर्दा महँगी बढ्न पुग्छ। अर्थतन्त्र जोखिम तर्फ अग्रसर हुँदा भने उत्पादनमा विशेष ध्यान दिनु पर्ने उनको भनाइ छ।

‘यसरी विश्व बजार प्रभावित बन्न पुग्दा खाडी मुलुकहरू समेत अछुतो रहन सक्दैनन्। यसको असर पनि नेपालमा पर्ने देखिन्छ,’ अर्थविद् आचार्यले भने, ‘करिब ३०र४० लाख नेपाली विदेशमा रहेको छन् भने भारतमा बिना अभिलेख पनि त्यतिकै संख्यामा रहेको पाइन्छ। खाडी मुलुकको आर्थिक अवस्था कमजोर भएमा त्यसले नेपाली अर्थतन्त्रलाई असर गर्छ। हाम्रो अर्थतन्त्र विप्रेषणमा आधारित रहेको हुनाले त्यसतर्फ पनि ध्यान दिनु आवश्यक रहेको छ।’

(स्वतन्त्र समाचार सेवा – आइएनएस)

Hello

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय