काठमाडौं– अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रहिआएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ ।

‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखी एउटा भरपर्दो साझेदार संस्थाको रुपमा रहिआएको छ,’ भेटमा उनले भने । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ मिलियन अमेरिकी डलर बराबरको बित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद ज्ञापन गरे । पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीय रुपमा बढ्दै गएको छ ।

सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो । हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । केही महत्त्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा रहेको र हाल संचालित आयोजनाहरु निक्कै महत्त्वपूर्ण र दूरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताए ।

‘विश्व बैंकसँगको वित्तीय सहकार्यमा संचालित आयोजनाहरु समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गनृ हामी सबैको प्रयास रहनेछ,’ मन्त्री शर्माले भने । सो अवसरमा आर्थिक वर्ष ०७९–८० को बजेट मूलतः आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उनले बताए ।

‘मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान बिन्दुको रुपमा उल्लेख गरेको छु,’ उनले भने ।

सो अवसरमाा विश्व बैंकको प्रबन्ध निर्देशक पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकोमा खुसी लागेको बताइन् । उनले नेपालको विकास साझेदारको रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्याउने जानकारी गराइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय