चितवन– जेठ २० गते दिउँसो, राप्ती नगरपालिका १ पिप्लेको नयाँबस्तीमा रहेको भीमकुमारी तामाङको घर अघि एउटा अटो रोकियो। अटोबाट एक अधबैँशे पुरुष झरे। तिनले अलिकति सहारा दिएझैँ गरेपछि दीर्घ रोगले थलिएकी एक महिला सकीनसकी अटोबाट झरिन्।

टिसर्ट र जिन्स पाइन्टमा झरेकी महिलाको कपाल जिङ्ग्रिङ्ग थियो। ज्यान सुकेर मुठ्ठी भरको भएको। ति मानिसहरू झट्ट भीमकुमारीले चिन्न सकिनन् । तर, उनीहरू आफ्नै घरतिर आइरहेका थिए। भीमकुमारीले अड्कल गर्दै गर्दा, भाउजू सम्बोधन गरिन्, तिनै महिलाले।

परिवारको सदस्य एकै सम्बोधनले ठम्याइन्छ। भीमकुमारीले भनिन्, कान्छी हो ? अँ भाउजू। दबेको स्वरमा यति निकाल्दै गर्दा उनी घिस्रिँदै आँगनछेउ आइपुगेकी थिइन्।

उनीसँगै ४५ हाराहारी उमेरको देखिने पुरुष थियो। चैत १० गते काठमाडौँबाट अरु दुई नन्दले आफूकहाँ आउन कान्छी नन्द हिँडेको खबर भीमकुमारीले पाएकी थिइन्।

तर, कौशिलाको साथमा फोन थिएन। सोही दिन बेलुकासम्म नआइपुगेपछि उनीहरूले चिनेजाने वरपर सोधिखोजी पनि गरेका थिए। भर्खर २७ वर्षकी भएपनि पढेकी थिइनन् कौशिलाले। उनी फोन पनि नबोक्ने।

काठमाडौँबाट सकुशल हिँडेकी भनेर खबर आएपनि नन्द घर नआइपुग्दा चिन्ता त थियो। तर, ज्याला मजदुरी गर्ने भएकोले साथीहरूसँग कामतिर गइन् भन्ने अनुमान गरेर उनीहरूले प्रहरीलाई खोजीको लागि खबर पनि गरेनन्।

काठमाडौँबाट चैत १० गते सकुशल हिँडेकी नन्द करिब साढे दुई महिनामा त्यो अवस्थामा देखेर भीमकुमारीको होसै उड्ला जस्तो भयो। सोधिन्, के भयो कान्छी ?

उनको स्वभाविक जवाफ थियो, बिरामी भएँ भाउजू।

तर, कान्छी अर्थात् उनको अवस्था भने सामान्य थिएन। नजिकै जानै नसकिने गरि गन्हाएकी थिइन्। शरीरबाट आलो रगतको गन्ध ह्वास्स आइरहेको थियो। कपाल गुजुल्टा परेका। वरपर कोही जानै नसक्नेगरी दुर्गन्ध आएको थियो उनको शरीरबाट।

सिधा बस्न पनि नसक्ने अवस्थामा आएकी थिइन् कान्छी। भीमकुमारीले भनिन्, ‘पिँढीमै लमतन्न सुतिन्।’

कौशीलामाथि के भएको थियो ?

उनी अर्थात् २७ वर्षकी नन्द एक्लै आएकी थिइनन्। आफ्ना कुरा राम्रोसँग भन्न पनि उनले सकिनन्। त्यही ४५ वर्ष हाराहारीको पुरुषले भन्यो तपाईँकी बहिनीलाई बिरामी भेटेर मैले उपचार गरिदिएको। रसिद नै देखाएर भन्यो मेरो २९ हजार खर्च भएको छ। तर, तिनी को हुन् ? नन्दसँग सम्बन्ध के हो, कसरी भेटेको त्यतिबेला केही खुलेन।

भीमकुमारीले भनिन्, ‘कान्छीले पनि त्यसको अगाडि केही भनिनन्।’

भीमकुमारीको श्रीमान राजेन्द्रको क्यान्सरले मृत्यु भएको आउँदो भदौमा ४ वर्ष पुग्छ। श्रीमानको ठेगाना नुवाकोट भएपनि नुवाकोटमा बस्ने खाने केही नभएपछि भीमकुमारी माइतीमै तीन छोरी हुर्काएर बसिरहेकी छिन्। आफ्नो बुबा र सासू ससुरा पनि उनैले हेरचाह गर्दै आएकी छिन्।

घरमा स्वास्नीमान्छे मात्रै भएकोले यसलाई राती राख्नुहुन्न भनेर छिमेकीले सल्लाह दिए। ज्वाइँ भन्नलाई बिहे भएको कुरा आएको थिएन। त्यसैले भीमकुमारीले नन्दलाई उपचार गरिदिएकोमा धर्म मिल्छ भनेर धन्यवादसहित पठाइन्।

त्यो मानिस अर्थात् ४५ वर्षका पूर्ण घलान घरबाट गएपछि नन्दले आफूमाथि भएको ज्यादतिबारे भीमकुमारीसँग खोलिन्,

काठमाडौँबाट पूर्वको गाडी चढेको थिएँ। पिप्ले भनेको राती ल्याएर भण्डारमा बसले ओरालिदियो। रातीमा बाटो चिनिन। वरपर मान्छे खोज्दा यिनै भेटिए। भोलि घर पुर्याइदिउँला भनेर लगे। भाउजूको घर टाढा छ भोलि पुर्याइदिउँला भनेर एउटा घरमा पुर्याए। पराल नै परालको घरमा लगेर हातखुट्टा बाँधेर राखे।’

उनले आफूलाई केही खान नदिएर पूर्ण सहित अरु तीन जनाले राती पालैपालो बलात्कार गर्ने गरेको भाउजूलाई बताइन्। आफू तामाङ भएपनि उनी तामाङ भाषा बुझ्दिनन्। चारै जनाले तामाङ भाषामा कुरा गर्ने गरेको पनि भाउजुलाई उनले बताएकी थिइन्। उनले बेलैमा किन नभनेको भन्दा कसैलाई भनिस् वा भागिस् भने मारेर खोलामा फलिदिन्छौँ भनेको पनि बताएकी थिइन्।

नन्दको त्यो हालत बनाएका पूर्णबहादुर कौशिलालाई अन्तिम अवस्थामा छोड्न आएका रहेछन् । उनलाई भाउजूको जिम्मा लगाएपछि पूर्ण त्यहाँबाट निस्किए । तर, चार किलोमिटर टाढा पुग्न नपाउँदै कौशिला आफ्नो बूढी भन्दै उपचारको लागि पैसा माग्न थालेका रहेछन् । मागेको रकमले रक्सी खाने रहेछन् । त्यो कुरा भीमकुमारीको छिमेकीले थाहा पाएछन् । पूर्ण र उनका साथीहरूले गरेको यौन शोषणबारे जानकारी भएका भीमकुमारी र उनका छिमेकीले प्रहरीलाई खबर गरेर पूर्णलाई प्रहरीको जिम्मा लगाए । त्यसपछि बल्ल सुरु भयो, कौशिलामाथि भएको बलात्कारको न्यायिक प्रक्रिया र उनको उपचार ।

जेठ २४ गते प्रहरीकहाँ उजुरी गरेपछि कौशिलालाई भरतपुर अस्पताल उपचारको लागि भाउजू भीमकुमारीले लगिन्। अस्पतालमा नै उपचारको क्रममा जेठ ३१ गते कौशिलाले प्राण छोडिन्।

कहाँ बन्धक बनाइएकी थिइन् कौशिला

भण्डारा बजारबाट करिब दुईसय मिटर भित्र भण्डारामा माध्यामिक विद्यालयले खोलासँगैको आफ्नो जग्गामा माछा पोखरी खनेको थियो। माछाको रेखदेख र बिक्री गर्न तराइका एक परिवार नै त्यही दुई कोठे घरमा बस्ने गर्थे।

तर, अहिले विद्यालयले माछा पोखरी पुर्‍यो। त्यहाँ मान्छे बस्दैनन्। मृतक कौशिलालाई बन्धक बनाइएको भनिएको त्यो घर बाटोसँगै जोडिएको छ। त्यही घरमा भण्डारा माविका विद्यार्थीहरूले साइकल पनि पार्किङ गर्ने गर्थे।

कौशिला थला परेपछिको करिब ५/७ दिन खोला छेउमा भैँसी हेर्न आउने गोठालाहरूले देखेका थिए। त्यहाँ बिहान १० देखि पाँच बजेसम्म दैनिक भैँसी चराउन चौकीडाँडाबाट आउने कालिमाया परियारले पनि कौशिललाई देखेकी थिइन्।

उनले देख्दा कौशिला थला परेको अवस्थामा थिइन्। शरीर हृष्टपुष्ट हुँदा उनले नदेखेको बताइन्। ‘ति नानी त्यही घरको पिँढीमा त्रिपाल ओच्छ्याएर बस्थिन्। तरर रगत बगेको हुन्थ्यो। वरिपरि जानै नसक्ने गरि गन्हाउँथिन्। पिँढीमा दिनभर सुतिरहेकी हुन्थिन्। बलेसीमा झरेर दिसा गर्थिन्।, कालिमायाले भनिन्, ‘एक दिन त बलेसीमा हरियो दिसा गरेको देखेँ। पानी तात्दैन भनेर मैले पनि पानीको बोतल त्यहीँ राखेको थिएँ। लिन जाँदा आमा ६ दिन भयो मैले केही खाको छैन पैसा भए दिनु न भनिन्। मसँग त्यही दिनचाहिँ पैसा थिएन।’

परियारले खोलाको छेउमा फालेको फोहोरबाट प्लास्टिक छान्ने महिलाहरूले केही लुगा र त्रिपाल ल्याएर टाँगिदिएको पनि बताइन्। उनले करिब एक साता दिउँसो कौशिला मात्रै हुँदा श्रीमान भनिएको मान्छेचाहिँ नदेखेको पनि जानकारी दिइन्।

परियारले थपिन्, ‘बुढाबुढी काम गर्न आको भन्थिन्। तिमी बिरामी छौ हेल्थ पोष्ट लगिदिन्छौँ भन्दा जान्न मार्छ भन्थिन्। माइती पिप्ले जाउ न त भन्दा पनि मलाई मारिहाल्छन् नि भनेर मान्दै मानिनन्।’

परियारले चुनाव पछाडिको एकहप्ता जतिमात्रै त्यहाँ देखेको बताइन् ।

प्रहरीमा भाउजू भीमकुमारीले जाहेरी गरे अनुसार त्यही घरमा कौशिलालाई बन्धक बनाइएको थियो। प्रहरीले पनि त्यही घरमा बन्धक बनाइएको बताएको छ। तर, त्यो घरमा भित्र लगेर हातखुट्टा बाँधेर राख्न मिल्दैन। किनकी विद्यालयले नै घरमा ताला लगाएको छ। ढोका बन्द छ। गोठाला परियारको भनाइ अनि घरको अवस्थिति हेर्दा कौशिलालाई पिँढीमा बन्धक बनाएर पटक पटक बलात्कार गर्न सकिने अवस्था भने देखिँदैन।

त्यो घरको अवस्थिति देखेर शंका गर्न सकिन्छ कौशिलालाई त्यो घरभन्दा अन्तै बन्धक बनाइएको थियो कि ?

कौशिलालाई बन्धक बनाइएको भनिएको घर र राप्तीको ६ नम्बर वडा कार्यालयको दूरी ५० मिटर पनि छैन। रोगले थलिएपछि त्यही घरमा रगत बगाएर दुर्गन्धित जीवन बाँचिरहेकी उनलाई वडा कार्यालयले देखेन न वडालाई कसैले सूचित गर्‍यो।

घटनाको चार दिनपछि अर्थात् जेठ ४ गते भेट्दा वडा अध्यक्ष जल्लु महतो बेखबर देखिनुभयो।

‘पुलिसले एक पटक त बलात्कारमा मान्छे मर्यो भनेको थियो, महतोले भन्नुभयो, ‘एक पटक पुलिस कार्यालय जाँदा इन्स्पेक्टर भेटिएनन्, त्यसपछि पाँच दिन घुम्न गएर फर्किएँ। अहिलेसम्म पुलिसले केही जानकारी गराएको छैन।’

डाक्टरले पनि थाहा पाएनन् उनीमाथिको सामूहिक बलात्कार

चितवनमा रहेको एकमात्रै केन्द्रीय अस्पताल हो, भरतपुर अस्पताल। यहाँ पाँच वर्षभन्दा अघिदेखि अस्पतालमा आधारित संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सेवा छ। विभिन्न खाले हिंसाबाट पीडित भएका महिलाका उपचार, न्यायमा पहुँच र पुर्नस्थापनाको काम एकै थलोबाट गर्नको लागि स्थापित ओसीएमसीमा पर्याप्त कर्मचारी छन्।

फोकल पर्सन नर्सिङ प्रमुख नै छन्। वार्षिक २५ लाख रुपैयाँ संघीय सरकारले नै छुट्याइदिन्छ। तर, चैतको १० गतेदेखि बलात्कृत भएर शिथिल अवस्थामा अस्पताल पुर्याइएकी कौशिलाको पहिलो उपचारमा भने अस्पतालका डाक्टर, नर्सले केही थाहा पाएनन्।

चैतको १० गते काठमाडौँबाट चितवन हिँडेकी उनलाई परिवारको सम्पर्कबाट बिच्छेद भएको ७८ दिनपछि श्रीमती भन्दै पूर्ण घलानले भरतपुर अस्पतालमा बैशाख २८ गते पुर्‍याएका थिए।

गम्भीर अवस्थामा आकस्मिक कक्षमा ल्याइएकी कौशिलाको पहिले अस्पतालले स्त्रीरोग कक्षमा उपचार गरे। जाँचका क्रममा उनको पाठेघरमा नभइ पिसाब थैलीमा ढुंगा जमेको देख्यो। अवस्था निकै नाजुक भएकोले उनलाई अस्पतालले ओसीएमसी अन्तर्गत नै सबै चेकजाँच त गर्यो तर, हिंसाबारे भने ख्यालै गरेन।

अस्पतालमा रहँदा नै स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई आइसीयुमै सारिएकी ओसीएमसी केन्द्रकी नर्स कल्पना खनालले जानकारी दिइन। नर्स खनालको अनुसार कौशिलाको आन्द्राबाट रगत बगेको थियो, शरीरमा रगतको कमी थियो। सामान्यतया ४ देखि ११ हजार हुनुपर्ने डब्लुबीसी बढेर ३७ हजार पुगेको थियो,  पिसाबघरबाट रक्तश्राव पनि थियो। शरीरभरि संक्रमण फैलिएको थियो।

अवस्था नाजुक भएकोले २ दिन आइसीयुमा राखेर जनरल वार्डमा ल्याएकै दिन जेठ ११ गते कुरुवा र बिरामी भागेका खनालले बताइन। उजुरीपछि जेठ २४ गते फेरि अस्पतालमा कौशिला पुगेर घटनाबारे भनेपछि थाहा भएको खनालले बताइन।

घटनाको अवस्था हेर्दा जेठ ११ गते अस्पतालबाट भगाएर लगेपछि मात्रै भण्डाराको त्यो झुपडीमा राखिएको जस्तो देखिन्छ। नर्स खनालले पनि भन्नुभयो, ‘११ गते जेठ यहाँबाट भागेको मान्छे २० गते बल्ल भाउजुकोमा लगिदिएको भनेपछि बाँकी ९ दिन कहाँ राख्यो होला ?’

खनाल भन्छिन्,” श्रीमान श्रीमती भनेर बसेपछि हामीले उहाँलाई बलात्कार पीडितको रुपमा नै लिएनौँ। उनले पनि भनिनन्। पुन: अस्पताल भर्ना भएपछि भने उनले आफूलाई मार्ने धम्की दिएकोले केही भन्न नसकिएको जानकारी गराएकी थिइन्।”

जेठ २४ गते भाउजूले उपचारको लागि लगेकी उनको जेठ ३१ गते मृत्यु भएको थियो। मृत्यु पछि गरिएको पोस्टमार्टम रिपोर्टका अनुसार, कौशिलाको ठाउँ ठाउँमा चुरोटको ठुटाले पोलेको जस्तो दाग देखिएको छ। रिपोर्टमा विशेष गरी फिलामा, घाँटीमा चुरोटले पोलिएको, दाहिने मिर्गौला पूर्ण रुपमा बिग्रिएको, लामो सङ्क्रमणले पिसाबथैली, आन्द्रा बिग्रिएको देखिएको उल्लेख छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान, सामूहिक बलात्कार होइन

तामाङले मर्नुअघि आफूलाई चार जनाले हातखुट्टा बाँधेर बलात्कार गरेको भनेपनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने उनीमाथि सामूहिक बलात्कार नभएको अनुमान प्रहरीले लगाएको छ।

अहिले प्रमाणको रुपमा पीडक मात्रै छन्। हुन त प्रहरीले घटना भएको ठाउँ वरपरका स्थानीयसँग पनि सोधपुछ गरेको छ। तर, उनको मृत्यु भइसकेपछि पनि आफूले मात्रै शारीरिक सम्बन्ध गरेको दाबी गरेकाले सामूहिक बलात्कार हो होइन प्रहरीको अनुसन्धानले अझै यकिन भने गर्न सकेको छैन।

घटनाको प्रकृति हेर्दा र बन्धक बनाइएको भनिएको घरको अवस्था देख्दा उनलाई ७८ दिनसम्म त्यही घरमा राखिएको थियो भन्न सकिने अवस्था छैन। यता प्रहरी चाँहि सामूहिक बलात्कार हो होइन द्विविधामा रहँदा पीडितले मृत्यु नहुँदै भनेका बलात्कारमा संलग्न बाँकी दिन तीन जना उम्किने पो हुन् कि ?

प्रतिमा सिलवाल/आइएनएस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय