तुलसीपुर– दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ । त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ ।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको विमानले परीक्षण उडान भर्ने तय भएको छ । ‘निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ,’ उनले भनिन् । लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो । धावनमार्ग विस्तार गरी ठूला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको चौधरीको भनाइ छ ।
तुलसीपुर उपमहानगरपालिकाले चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाएको छ । हाल नेपाल वायु सेवा निगमले विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दै आएको छ ।
आइबार, मंगलबार, बिहीबार र शनिबार उडान हुने गरेको छ । टरिगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आएको छ । हाल दाङबाट काठमाडौंको न्यूनतम भाडा ८ हजार ८ सय १० तथा काठमाडौंबाट दाङको भाडा न्यूनतम ९ हजार र अधिकतम १२ हजार रहेको छ । हाल कायम रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ ।









