काठमाडौं– अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा हुनुभन्दा केही घण्टा अगाडि पाकिस्तानबाट केही साना आशाजनक संकेतहरू आएका थिए।
एक पाकिस्तानी स्रोतले नाम नखुलाई बीबीसीलाई दिएको जानकारी अनुसार इरान र अमेरिकाबीचको वार्ता ‘तीव्र गतिमा’ अगाडि बढिरहेको थियो, जसमा पाकिस्तानले दुवै पक्षबीच मध्यस्थको रूपमा काम गरिरहेको थियो।
पाकिस्तानका तर्फबाट वार्ता सञ्चालन गर्ने टोली ‘धेरै सानो घेरा’मा सीमित थियो, र वातावरण ‘गम्भीर तथा संवेदनशील तर पनि युद्धविराम हुने आशा कायम’ रहेको बताइयो। ‘केही घण्टा मात्रै बाँकी छन्,’ एकजना अधिकारीले भने । तर आफू त्यो सानो घेरामा समावेश नभएको पनि उनले स्पष्ट पारे।
पछिल्ला केही हप्तायता पाकिस्तानले इरान र अमेरिकाबीच सन्देश आदान–प्रदान गर्दै मध्यस्थताको भूमिका खेलिरहेको छ। पाकिस्तानको इरानसँग ऐतिहासिक सम्बन्ध छ, साँधको छिमेकी हो, र इस्लामावादले प्रायः इरानलाई भ्रातृत्व सम्बन्ध भएको देश भन्ने गर्छ।
अमेरिकासँगको सम्बन्धबारे, राष्ट्रपति ट्रम्पले पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्सल आसिम मुनिरलाई आफ्नो ‘मनपर्ने’ फिल्ड मार्सल भनेर उल्लेख गरेका छन्, र आफूलाई इरानबारे ‘धेरैभन्दा राम्रो ज्ञान’ भएको दाबी गरेका छन्।
सम्झौता पक्का हुने अवस्था भने थिएन। मंगलबार राति संसदमा बोल्दै, पाकिस्तानका विदेशमन्त्री इशाक डारले भने, ‘हिजोसम्म हामी निकै आशावादी थियौं कि कुराहरू सकारात्मक दिशामा अघि बढ्दैछन् ।’ तर सोमबार इजरायलले इरानमाथि र त्यसपछि इरानले साउदी अरेबियामाथि आक्रमण गरेपछि परिस्थिति बद्लिएको उनले बताए।
उनले थपे, पाकिस्तान ‘जति सकिन्छ त्यति व्यवस्थापन गर्ने’ प्रयासमै रहेको छ।
फिल्ड मार्सल मुनिर अझै स्पष्ट रूपमा आलोचक बने। मंगलबार सैनिक अधिकारीहरूलाई सम्बोधन गर्दै उनले साउदी अरेबियामाथिको आक्रमण ‘शान्तिपूर्ण माध्यमबाट द्वन्द्व समाधान गर्ने इमानदार प्रयासलाई विफल बनाउने’ घटना भएको बताए।
यो भाषाशैली द्वन्द्व सुरु भएयता पाकिस्तानले इरानबारे प्रयोग गरेको सबैभन्दा कडा टिप्पणीमध्ये एक थियो।
केही विश्लेषकहरूले यसले इरानमाथि थप दबाब पर्न सक्ने सुझाव दिएका छन्। पाकिस्तानको साउदी अरेबियासँग सुरक्षा सम्झौता छ, जुन बारम्बारका आक्रमणहरूका बावजुद हालसम्म सक्रिय गरिएको छैन।
मध्यरातपछि पाकिस्तानका प्रधानमन्त्रीले ‘एक्स’मा लेखे, ‘कूटनीतिक प्रयासहरू स्थिर, दृढ र प्रभावकारी रूपमा अघि बढिरहेका छन्, जसले नजिकै भविष्यमा महत्वपूर्ण परिणाम दिन सक्नेछ,’ र राष्ट्रपति ट्रम्पलाई समयसीमा दुई साताले बढाइदिन तथा इरानलाई त्यही अवधि स्ट्रेट अफ होर्मुज खोलिदिन आग्रह गरे।
पाकिस्तानस्थित इरानी राजदूत रेजा अमिरी मोगहादमले स्थानीय समय अनुसार करिब ३ः०० बजे (बेलायत समय मध्यरात) ‘एक्स’मा लेखे कि ‘गम्भीर, संवेदनशील चरणबाट एक कदम अगाडि बढिएको’ छ।
करिब ५ः०० बज्नुभन्दा केही अघि, पाकिस्तानका प्रधानमन्त्रीले युद्धविराममा सहमति भएको घोषणा गरे र दुवै पक्षलाई आगामी शुक्रबार, अप्रिल १० मा इस्लामाबादमा भेटेर ‘अन्तिम सम्झौताका लागि थप वार्ता’ गर्न आमन्त्रण गरे।
‘हामी अझै पनि निकै सतर्क छौं,’ पाकिस्तानी स्रोतले बीबीसीलाई भने, ‘परिस्थिति अझै नाजुक छ।’ दुवै पक्षबीच अझै विश्वास छैन, र तिनका अडान गहिरो रूपमा गढिएका छन्।
पाकिस्तानले दुवै पक्षलाई एउटै टेबलमा बसाल्न सक्ला तैपनि एउटा प्रश्न जिवितै छ— उनीहरूले के कुरामा सहमति पाउन सक्लान् ?
बिबिसी









