चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौं उपत्यकाको लागि उपत्यकाबाहिर खाना पकाउने ग्यास भरेर लैजान थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौं छिर्न नसकेपछि उपत्यका बाहिरै सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसनको ‘एसटिसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ ।
बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मंगलबार चितवनको बाबा ग्यासले एक हजार ५०० श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ ।
श्री ग्यासको प्लान्ट धादिङ नौबिसेमा रहेको छ । यस्तै यहाँको साइबाबाले आफ्नै ९०० सिलिन्डर काठमाडौं पठाएको छ । नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको एक हजार २०० सिलिन्डर भरेर पठाएको छ ।
गैंडाकोटको जानकीमा नौबिसेको श्रीराम, हेटौंडाको साहारामा काठमाडौंको एभरेष्ट र सुगमको ग्यास भरेर पठाइएको छ । उनले भने, ‘साल्ट ट्रेडिङ कर्पोरेशनको एसटिसी ग्यास वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ ।’
सञ्चालक विमल कालाखेतीका अनुसारा बनेपाको सगरमाथाले परासीको चण्डी ग्यासमा, बनेपाको लोकप्रिय, सुपर ग्यास, तारा ग्यासलगायतले राजधानी बाहिरका विभिन्न ग्यास उद्योगमा भरेर सिलिन्डर त्रिभुवन राजपथबाट पठाउन सुरु गरेका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघका सदस्यसमेत रहेका सञ्चालक कालाखेतीले भारतबाट आउने ग्यास नघटेको र बुलेट पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा भरेर ट्रकमा राखेर पठाइरहेकाले ग्यासको अभाव नहुने बताए ।
गत महिना भारतबाट ६० हजार २०० मेट्रिक टन ग्यास नेपाल आएको जनाउँदै उनले यो मात्रा हालसम्मको बढी भएको बताए । उनका अनुसार सोही अनुपातमा ग्यास आइरहेकाले समस्या पर्ने अवस्था छैन ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको जानकारी दिए । उपत्यका र छिमेकी जिल्लामा रहेका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका उद्योगसँग समन्वय गरी भरेर उपत्यका लैजान थालेका छन् । उपत्यका र छिमेकी जिल्लामा कुल खपतको ४० प्रतिशत खपत हुने उनी बताउँछन् ।









