काठमाडौं– रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण घरपरिवार र व्यवसाय, प्रतिष्ठानतर्फ ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय, प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ ।
सर्वेक्षणअनुसार आर्थिक क्षतिसम्बन्धी प्रारम्भिक विवरणमा घर भएको जग्गा (आफ्नै स्वामित्वको) अन्तर्गत ५४ दशमलव ६५ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ । जसमा घडेरीमा भएको क्षति १३ अर्ब २६ करोड र घर निर्माण लागत ११ अर्ब ९५ करोड रुपैयाँ छ ।
बाढीका कारण ३ हजार ६१० परिवारको स्वामित्वमा रहेको ५०७ दशमलव ९७ हेक्टर क्षेत्रफल जग्गा जमिनमा क्षति भएको छ । यसको मूल्य ३५ अर्ब ४४ करोड बराबर अनुमान गरिएको छ । त्यसैगरी २ हजार ९५१ परिवारको खेतबारीमा लगाएको बालीमा क्षति पुगेको छ । यसको मूल्य २३ करोड २१ लाख रुपैयाँ हुने आयोगले बताएको छ ।
त्यसैगरी १ हजार ८७६ परिवारको भण्डारणमा रहेको खाद्यान्नमा क्षति पुग्दा १० करोड ४१ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । पशुपन्छीतर्फ १ हजार ११ परिवारले पालेको २१ करोड ४२ लाख रुपैयाँ बराबरको पशुपन्छी र माछामा क्षति भएको छ ।
आयोगका अनुसार सवारीसाधनतर्फ एक हजार ११५ परिवारको रु एक अर्ब २४ करोड बराबरको क्षति भएको छ । साथै बहूमूल्य, सांस्कृतिक तथा पुरातात्विक वस्तुतर्फ २ हजार ३३० परिवारको ५ अर्ब २ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बाढीका कारण स्थायी प्रकृतिका (टिकाउ हुने) घरायसी वस्तुमा पनि क्षति पुगेको छ । जसमा ३ हजार १८७ परिवारले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् । साथै अस्थायी प्रकृतिका (टिकाउ नहुने) घरायसी वस्तुमा पनि २ हजार ७६९ परिवारले ६६ करोड ३५ लाख रुपैयाँ बराबरको क्षति बेहोरेका छन् ।
आयोगका अनुसार बाढीका कारण ६ हजार ८१७ परिवार, ३२ हजार ८७२ जना व्यक्ति, ४९९ प्रतिष्ठान प्रभावित भएका थिए । पूर्ण क्षति भएका आवासीय संरचनाको सङ्ख्या २ हजार ९८९ छ ।
प्रभावित घरपरिवारतर्फ धादिङमा ९४८, गोरखामा १०८, नुवाकोटमा ३ हजार ८४१ र सुवामा एक हजार ९२० सङ्ख्या छ । साथै प्रतिष्ठानतर्फ धादिङमा १०४, गोरखामा १५, नुवाकोटमा ३२३ र रसुवामा ५७ वटा प्रभावित भएका छन् ।
सर्वेक्षणमा अनलाइन एप र ट्याब्लेटसहित कर्मचारी परिचालन गरिएको थियो । जसमा चार जिल्लाका १५ स्थायीय तहमा ५८ टोली र १५६ जनशक्ति परिचालन गरिएको थियो ।









