काठमाडौं– बिजुली व्यापारका लागि आवेदन दिएका १२ कम्पनीमध्ये पाँचवटाले प्रक्रिया पूरा गरी आशयपत्र पाएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार हालसम्म प्रक्रिया पूरा गरेका पाँच कम्पनीलाई आशयपत्र जारी गरिएको छ। बाँकी कम्पनीहरू आशयपत्रको प्रक्रियामा छन्।

मन्त्रालयका सहसचिव सुनिल पौडेलका अनुसार ट्रान्स एसिया पावर ट्रेडिङ लिमिटेड, हिमालय पावर ट्रेड एन्ड एक्सचेन्ज कम्पनी लिमिटेड, नेपाल पावर एक्सचेन्ज लिमिटेड, हिमालयन इलेक्ट्रिसिटी ट्रेडिङ एन्ड एक्सचेन्ज कम्पनी प्रालि र नेपाल इनर्जी एन्ड वाटर रिसोर्सेस प्राइभेट लिमिटेडले आशयपत्र पाएका हुन् ।

आशयपत्र पाउँदैमा विद्युत् व्यापार गर्न पाइने भने होइन। आशयपत्र प्राप्त गरेका कम्पनीले सम्भावित बजार पहिचान, बजारको अध्ययन तथा विद्युत् व्यापारसम्बन्धी प्रारम्भिक तयारीका काम गर्न सक्छन्। विद्युत् व्यापार गर्न औपचारिक अनुमतिपत्र लिन थप कानुनी प्रक्रिया पूरा गर्नुपर्छ ।

सहसचिव पौडेलका अनुसार निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन आवश्यक कानुनी व्यवस्था गर्न केही नेपाल ऐन संशोधनसम्बन्धी प्रक्रिया अघि बढाइएको छ। उक्त संशोधन प्रक्रिया पूरा भएर कानुनी व्यवस्था बनेपछि मात्रै कम्पनीहरूलाई अनुमतिपत्र दिन सकिने उनले बताए।

मन्त्रालयले अहिले दिएको आशयपत्रलाई नै विद्युत् व्यापारको अनुमतिपत्रका रूपमा बुझ्न नहुने उनको भनाइ छ। ‘कम्पनीहरूलाई बजारको सम्भावना अध्ययन गर्न र आवश्यक तयारी अघि बढाउन सैद्धान्तिक सहमति दिइएको हो,’ पौडेलले भने । विद्युत् व्यापारका लागि मन्त्रालयमा १२ कम्पनीले आवेदन दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय