काठमाडौं– चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कात्तिक मसान्तसम्ममा सरकारले कूल ४ खर्ब ९६ अर्ब ५२ करोड ११ लाख बराबर खर्च गरेको हो । यो वार्षिक लक्ष्यको तुलनामा २३ दशमलव ३७ प्रतिशत हुन आउँछ ।

चालुगत शीर्षकमा यस आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा वार्षिक विनियोजनको २७ दशमलव २९ प्रतिशत अर्थात् ३ खर्ब ४६ अर्ब ७५ करोड २४ लाख रुपैयाँ खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ बराबर विनियोजन भएको ७ दशमलव ५३ प्रतिशतअर्थात् ३२ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा यस वर्ष ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ बराबर बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा २७ दशमलव ७६ प्रतिशत अर्थात् १ खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको छ ।

सरकारले यस वर्ष १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्ममा वार्षिक लक्ष्यको २३ दशमलव ३९ प्रतिशतअर्थात् ३ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ बराबर प्राप्ति गरेको छ । कूल १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको सरकारले पहिलो चौमासिकसम्ममा २३ दशमलव ५८ प्रतिशत अर्थात् ३ खर्ब ७२ अर्ब ७१ करोड ८० लाख रुपैयाँ बराबर राजस्व उठेको छ ।

वैदेशिक अनुदानतर्फ यस वर्ष ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ बराबरको वार्षिक लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा १४ दशमलव ५ प्रतिशत अर्थात् ८ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ बराबर अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय