काठमाडौं– चीनमा ब्याट्रीबाट चल्ने हवाईजहाजले मानवसहितको पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । योसँगै मानव संसार ब्याट्रीबाट चल्ने व्यावसायिक हवाईजहाजको युगमा प्रवेश गरेको छ ।

चीनको कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक) लाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएअनुसार चीनले स्वतन्त्र रूपमा विकास गरेको १० टन वर्गको विद्युतीय व्यावसायिक विमान ‘सीई–२५ए’ ले शनिबार पूर्वी चीनको सान्दोङ प्रान्तमा आफ्नो इन्टेलिजेन्ट फ्लाइट प्रणाली प्रयोग गरी पहिलो मानवसहितको उडान सफलतापूर्वक सम्पन्न गरेको हो।

उडानका क्रममा सीई–२५ए विमानमा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर सवार थिए। विमान सामान्य रूपमा सञ्चालन भएको थियो र यसका सबै सूचकहरू अपेक्षाअनुरूप पाइएका थिए। फेब्रुअरी २ मा सम्पन्न भएको विमानको पहिलो मानवरहित इन्टेलिजेन्ट उडानपछि प्राप्त भएको यो उपलब्धिले यसको विकासमा थप प्रगति भएको देखाउँछ।

सीई–२५ए अन्तर–सहर (इन्टरसिटी) उडानका लागि डिजाइन गरिएको कोम्याकको पहिलो विद्युतीय व्यावसायिक विमान हो। यसले १९ जना यात्रु बोक्न सक्छ भने यसको अधिकतम टेकअफ तौल १० टन रहेको छ। यसको उडान गति ३०० किलोमिटर प्रतिघण्टा, उडान उचाइ २,४०० मिटर र उडान दूरी (रेन्ज) ४०० किलोमिटर रहेको छ।

कोम्याक, चाइना एकेडेमी अफ लन्च भेहिकल टेक्नोलोजी (सीएटीएल) र सांघाइ जियाओ तोङ विश्वविद्यालयद्वारा संयुक्त रूपमा विकसित सीई–२५ए ले १९ वटा स्वायत्त मानवरहित उडान परीक्षणहरू पूरा गरिसकेको छ। चीनको नागरिक उड्डयन प्रशासनले यस विमानको ‘टाइप सर्टिफिकेसन’का लागि दिइएको आवेदन स्वीकार गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय