काठमाडौं– आयात निर्यातकर्ता व्यवसायीको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ अन्तर्गत योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन भएको छ । संघको युवा विभागको रुपमा गठित फोरमको नेतृत्व गौरव शारडाले पाएका छन् । संघले शारडालाई वाइबिइएफको अध्यक्षको जिम्मेवारी तोकेको हो ।

फोरमको उद्देश्य गतिशील युवा व्यावसायिक नेतृत्व विकास गर्नु रहेको संघले जनाएको छ । ज्ञान आदानप्रदान, नविन विचारको प्रवर्द्धन तथा व्यवहारिक सिकाइ र सूचना आदानप्रदान मार्फत व्यवसाय क्षेत्रमा सक्षम युवा नेतृत्व तयार गर्ने उद्देश्यले फोरम गठन गरेको संघका अध्यक्ष सुनिलकुमार वंशलले जानकारी दिए ।

फोरमले युवा व्यवसायीलाई व्यवसायका असल अभ्यासहरु सिकाउँदै उनीहरुको दक्षता र क्षमता विकास गर्नेछ । यसले गतिशील कर्पोरेट जगतको चुनौती सामना गर्न सक्ने नेतृत्व तयार गर्ने बताइएको छ ।

फोरमको सल्लाहकारमा सुशील गुप्ता छन् । उपाध्यक्षमा जयन्त अग्रवाल र महासचिवमा सुमितकुमार वंशल (धानुका) रहेको संघले जानकारी दिएको छ ।

त्यसैगरी, द्विपक्षीय व्यापार र सम्बन्धको जिम्मेवारी सलोनी सेठियाले पाएकी छिन् । आयात निर्यात व्यापार प्रवर्द्धन विभागको जिम्मेवारी प्रवेश अग्रवाललाई र नेटवर्क तथा सदस्यता अभियानको जिम्मेवारी कुशलसुन्दर श्रेष्ठलाई दिइएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा संघका अध्यक्ष वशंल र शारडाले संयुक्त ब्यानर अनावरण गरी फोरम सार्वजनिक गरेका हुन् ।
फोरम घोषणा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वंशलले युवा व्यवसायीलाई आफ्ना मुद्दाहरु उठाउन सुझाए । ‘तपाईंहरुले आवाज नउठाइकन कसैले सुन्दैन,’ उनले भने ।

नवगठित फोरमका अध्यक्ष शारडाले सफलताका लागि निरन्तर सिक्नुपर्ने औंल्याउँदै युवा व्यवसायीलाई एकै ठाउँमा ल्याएर कर्पोरेट जगतका चुनौतीको सामना गर्न सक्ने बनाउनु आफूहरुको उद्देश्य रहेको बताए । उद्योग, व्यवसायका नवप्रवेशीलाई विधि, प्रक्रिया, प्रचलित ऐन–कानुन लगायत विषयमा प्रशिक्षण, अग्रजका अनुभव लगायत माध्यमबाट दक्ष बनाउने योजना उनले सुनाए ।

संघका वरिष्ठ उपाध्यक्ष विनोद सेठियाले नयाँ पुस्तालाई पारदर्शी भएर व्यवसाय गर्न सुझाउँदै अरुको सफलता र असफलता दुवैबाट पाठ सिक्नुपर्ने बताए । उनले सफल रुपमा व्यवसाय सञ्चालनका लागि असल संस्कार र प्रणाली विकास गर्नुपर्नेमा जोड दिँदै अगाडि थपे, ‘राम्रो प्रणाली बनाउन सक्नुभयो भने तपाईंको अनुपस्थितिमा पनि व्यवसाय मज्जाले चल्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय