काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको आत्मविश्वास बढाउने खालको मौद्रिक नीतिको तयारी भइरहेको जनाएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मौद्रिक नीतिका विषयमा बुझाएको ३५ बुँदे सुझाव ग्रहण गर्ने क्रममा उनले भने, ‘आगामी मौद्रिक नीति उद्योगी व्यवसायीसहित आम सर्वसाधारणको आत्मविश्वास बढाउने खालको नै ल्याइन्छ ।’ उनले चालु वर्षको मौद्रिक नीतिका कारण उद्योगी व्यवसायीको आत्मविश्वास मर्न नपाएको भन्दै अब पनि उद्योगी, व्यवसायीको आत्मविश्वास बढाउन कोसिस गर्ने बताए ।

सेजनले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको चरणमै कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रलाई जटिल मोडको पुर्याएको भन्दै अर्थतन्त्रको पुनरुत्थानलाई नै ध्यानमा राखेर आगामी वर्षको मौद्रिक नीति ल्याउन आग्रह गरेको छ ।

‘राष्ट्र बैंकले लिएको नीतिका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको, तर मौद्रिक नीति कार्यान्वयनको चरणमै दोस्रो लहरको कोरोना भाइरसको असर बढेपछि फेरि नेपालको अर्थतन्त्र जटिल मोडमा पुगेको छ,’ सेजनले सुझावमा भनेको छ, ‘कोरोना प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न मौद्रिक नीतिसामु चुनौती थपिएको छ । एकातिर वित्तीय क्षेत्रलाई स्थायित्व दिनुपर्ने र अर्कोतर्फ राहत दिनुपर्ने परस्पर विरोधी विषयलाई सन्तुलन गर्नुपर्ने चुनौती पनि छ ।’

गभर्नर अधिकारीले सेजनले यथार्थपरक सुझाव दिएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले आगामी मौद्रिक नीतिका विषयमा राष्ट्र बैंकले सरोकारवालासँग छलफल गरिरहेको पनि जानकारी दिए ।

सेजनका अध्यक्ष भीम गौतमले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति आउने विश्वास व्यक्त गरे । सो अवसरमा डेपुटी गभर्नरद्वय बमबहादुर मिश्र र निलम ढुंगाना, कार्यकारी निर्देशक एवं प्रवक्ता देवकुमार ढकाल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय