काठमाडौं– धितोपत्रको दोस्रो बजारमा मंगलबार ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतले मूल्य बढेका ६ कम्पनीमा पाँचवटा हाइड्रो छन् । यस दिन कारोबारमा आएकामध्ये १४ वटा कम्पनीको सेयर मूल्य सर्किट लेवलमा पुगेको नेपाल स्टक एक्सचेन्जको अभिलेखले देखाउँछ ।

१० प्रतिशतले मूल्य बढ्ने कम्पनीमा मल्टिपर्पस फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर छन् ।

सुरुमा उच्च बिन्दुले ओरालो लागेको नेप्से बजार बन्दा हुँदा २९.२३ बिन्दुले बढेर ३०७९.८८ मा पुगेको छ । केन्द्रिय बैंकले सोमबार जारी गरेको निर्देशनले बैंक, वित्तीय संस्थाको सेयर कारोबारमा असर पर्ने अनुमान गरिए पनि बजारमा त्यसको ठूलो असर देखिएन । केही वाणिज्य बैंक र माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्यमा भने राष्ट्र बैंकको निर्देशनको असर देखिएको छ ।

यस दिनको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढी छ । यस दिन ३ करोड २३ लाख ५५ हजार २६० कित्ता सेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँमा किनबेच भएको छ ।

मंगलबार हाइड्रोपावर र फाइनान्स कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । यस दिन हाइड्रोपावर उपसमूहको सूचक ३.७४ प्रतिशतले र फाइनान्सको २.८४ प्रतिशतले बढेका छन् । त्यसैगरी, उत्पादन तथा प्रशोधन उपसमूहको सूचक ४.७४ प्रतिशतले बढेको छ ।

माइक्रोफाइनान्स उपसमूहको सूचक भने सबैभन्दा धेरै २.०६ प्रतिशतले घटेको छ । यस दिन बढी गुमाउनेमा माइक्रोफाइनान्स कम्पनीका सेयर होल्डर छन् । सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ५.७७ प्रतिशतले घटेको छ भने उन्नति सहकार्य लघुवित्तको ४.६८ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ४.०६ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.९६ प्रतिशत र समता घरेलु लघुवित्तको मूल्य ३.८१ प्रतिशतले घटेको छ ।

रकमका हिसाबले यस दिन सबैभन्दा बढी मंगलबार एनआइसी एसिया बैंकको भएको छ । यस बैंकको ४९ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अपि पावर ४८ करोड ३२ लाख कारोबार रकम पर्याएर दोस्रो नम्बरमा परेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको ३६ करोड २४ लाख, सानिमा माई हाइड्रोपावरको ३५ करोड २८ लाख र नेसनल हाइड्रोपावरको ३५ करोड २८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

१८३ सूचीकृत कम्पनीको सेयर किनबेच भएको बजारमा ११० वटाको मूल्य बढेको छ भने ६७ वटाको घटेको छ । ६ वटा सूचीकृत कम्पनीको सेयर मूल्य घटबढ भएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय