काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नाम जोडेको भन्दै आपत्ति जनाएको छ ।

महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै ढकालको नाम जोडेर प्रकाशित तथा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले नेपाल धितोपत्र बोर्डमा महासंघको तर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष ढकाललाई २०७७ मंसिर ३० मा बोर्डको प्रतिनिधि तोकेको जनाएको छ ।

विज्ञप्तिमा वरिष्ठ उपाध्यक्ष ढकाल बोर्ड बैठकमा २०७७ माघ ११ गतेदेखि उपस्थित रहेको महासंघको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा उनका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष धितोपत्र बोर्डमा चन्द्र प्रतिनिधि बन्नुअगावै सेयर कारोबार गरेको जनाएको छ ।

ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रुपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि २०७७ मंसिर १४ मा गरिएको सेयर कारोबारकोे विषयलाई जोडेर अहिले गलत प्रचार भएको सो विज्ञप्तिमा उल्लेख छ ।

भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भीर आँच पुर्याउने हुँदा सत्यतथ्य बुझेर मात्र समाचार सार्वजनिक गर्न महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय