काठमाडौं– धादिङ जिल्लाको साबिक लापा, सेर्तुङ र झार्लाङ गाविस (हालको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिका) मा निर्माण हुने ३८ मेगावाट क्षमताको माथिल्लो आँखु खोला जलविद्युत् आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक नेपाल लिमिटेड र सिभिल बैंकले ऋण लगानी गर्ने भएका छन् ।
प्रवर्द्धक कम्पनी र लगानीकर्ता बैंकहरुबीच मंगलबार वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ । परियोजनाको अनुमानित लागत ७ अर्ब ३३ करोडमा बैंकहरुको ७५ः२५ को ऋण : स्वपुँजी अनुपातमा ५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहने बताइएको छ । २५ प्रतिशत स्वपुँजी प्रवर्द्धहरुबाट जुटाइने छ । यसको प्रवर्द्धकमा व्यवसायी अजय सुमार्गी लगायत छन् ।
उक्त आयोजना निर्माण आगामी चार वर्षभित्रै निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य छ । सोको लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायमा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको बताइएको छ ।
निर्माण सम्पन्न भएपछि उक्त आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको नुवाकोट जिल्लास्थित त्रिशूली ३ बी हब सबस्टेसनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट घन्टा र बर्खामा १५२.४३८ गिगावाट गरी वार्षिक २१९.१३८ गिगावाट घन्टा खुद विद्युत् उत्पादन हुनेछ ।









