खलंगा– दसैंको अवसर पारेर मुगुको राराताल घुम्न निस्केका दर्जनौं आन्तरिक पर्यटक यातायात अवरुद्ध हुँदा ताल्चा विमानस्थलमा अलपत्र परेका छन् ।

मुगुमा हवाई उडान समेत नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका हुन् । कर्णालीमा उडान भर्दै आएका चारवटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ लगेकाले अहिले उडान ठप्प छ । लगातारको वर्षाले स्थलमार्ग पूर्णरूपमा बन्द छ भने जहाज नचल्दा दसैंको बिदा मनाउन राराताल पुगेका पर्यटक सातादेखि अलपत्र परेका हुन् ।

बाँकेको नेपालगन्जका सृजन खत्री काठमाडौंबाट आएका आठ साथीसँगै मोटरसाइकलमा रारा पुगेका थिए । बाटोमा मोटरसाइकल बिग्रिए । साथीहरू जहाजमार्फत नेपालगन्ज फर्किन तीन दिनदेखि विमानस्थलमा विमानको प्रतीक्षामा छन् । ‘जहाज नआउँदा तीन दिनदेखि विमानस्थलमै अलपत्र परेका छौं, पैसा पनि सकियो,’ उनले भने, ‘एक सातादेखि विमान नपाएर धेरैजना यहीँ हुनुहुन्छ, उद्धारका लागि धेरै ठाउँमा फोनमार्फत गुहार्यौं, अहिलेसम्म कसैले जवाफ दिएका छैनन् ।’

जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि फेरि मौसममा खराबी आउने पूर्वानुमान गरेको छ । मौसममा खराबी आउनेबित्तिकै ताल्चामा विमान अवतरण हुँदैन । एक सयभन्दा बढी यात्रु विमानस्थलमा उद्धारको प्रतीक्षामा छन् ।

शनिबार नै उद्धार नभए अझै कति दिन भोकभोकै बस्नुपर्ने हो थाहा छैन । निरन्तरको वर्षाका कारण मौसममा सुधार नहुँदा सोमबारदेखि बुधबारसम्म यस विमानस्थलमा एउटै उडान भएन । बिहीबार जम्मा दुईवटा मात्रै उडान भए । राजधानी काठमाडौं र अन्य जिल्लाबाट प्याकेजमा आएका पर्यटकलाई हवाई उडान नहुँदा सास्ती भएको उनले बताए ।

विमानस्थलमा यात्रुको चाप थेगिनसक्नुको छ । सयभन्दा बढी यात्रु विमानस्थलमा विमानको पर्खाइमा छन् । हवाईमार्गबाट राराताल आउने अधिकांश पर्यटक एक रात बिताएर फर्किने गरी प्याकेज बनाएका हुन्छन् । एक सातादेखि उडान भर्न नपाउँदा समस्या भएको विमानस्थल प्रमुख विशाल बरुणले बताए ।

मुगुमा नेपाल वायुसेवा निगम, समिट एयर, तारा एयर र सीता एयरले उडान भर्दै आएका छन् । बाढीपहिराका कारण विभिन्न ठाउँको स्थलमार्ग अवरुद्ध हुँदा कर्णालीमा सञ्चालन हुने हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्व र सुदूरपश्चिमतर्फ लगेका छन् । सीताको जहाजमा खराबी आएर नेपालगञ्जमा थन्क्यिाइएको छ । समिटको जहाज सुदूरपश्चिम प्रदेशमा छ । ताराको जहाजले दैनिक एक–दुई उडान मात्रै गर्दै आएको मुगु विमानस्थल कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रोम महतले अलपत्र यात्रुको उद्धारका लागि सरोकार निकाय र विमान सञ्चालक कम्पनीलाई पत्राचार गरिएको बताए । उनले गृह मन्त्रालय, कर्णाली प्रदेश सरकार र विमान सञ्चालक कम्पनीहरुलाई नियमित र थप उडान गर्नका लागि जानकारी गराउनाका साथै पत्राचार पनि गरिएको बताए । दसैं बिदा मनाउन राराताल आएका पर्यटकको चाप अत्यधिक हुँदा यात्रुले धेरै दिनको पालो पर्खेर मात्र यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जानकारी दिँदै उनले भने, ‘हाल यस क्षेत्रमा उडान भर्ने एयरलाइन्सका जहाजले देशको पूर्वतर्फ उडान भर्न गएकाले कर्णालीमा रहेका यात्रुलाई यात्रामा समस्या पर्न गएको हो । अरु बेला कर्णालीमा उडान भर्ने विमान सेवा कम्पनीले चाडपर्व र पर्यटक आउने बेला अन्यत्र विमान पठाउनु गलत हो ।’

बाढी–पहिराका कारण कर्णाली राजमार्गको सुर्खेत–नाग्म सडक र नाग्म–गमगढी सडकका १४ ठाउँमा ठूलो पहिरो खसेपछि सवारीलाई सास्ती भएको यहाँका स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय