म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको रुपमा विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ ।
यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना बगाएपछि पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्डको अस्तित्व मेटिएको हो । कुण्डको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको करिब १ करोड रुपैयाँ लगानी बाढीले बगाएर क्षति पुर्याएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।
‘तातोपानीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले विगत नौ वर्षदेखि १ करोडभन्दा बढी लगानी गरेर तयार पारेको पूर्वाधार ध्वस्त बनाएको छ,’ उनले भने, ‘कुण्ड रहेको स्थानबाट अहिले कालीगण्डकी नदी बगिरहेको छ भने तातोपानीको मुहानसमेत पुरानो कुण्डबाट करिब ३० मिटर तल सरेको छ ।’
कालीगण्डकीको कटानबाट जोगाउन किनारमा निर्माण गरिएको पक्की पर्खाल निर्माण, डुबुल्की मारेर स्नान गर्ने सुविधाका लागि व्यवस्थित पोखरी, टहरा, विश्रामस्थल र शौचालयलगायत पूर्वाधार कालीगण्डकीको बाढीले बगाएको छ ।
गाउँपालिकाले पछिल्ला केही वर्ष यता प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गर्दै आन्तरिक आम्दानीसमेत गर्दै आएको थियो । चालु आर्थिक वर्ष २०८३–८४ का लागि कुण्ड सञ्चालन गर्न ४ लाख ५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
स्थानीयवासी दयाराम जिसीका अनुसार गाउँपालिका, प्रदेश सरकार, स्थानीय र दाताको सहयोग जुटाएर तातोपानीको मुहान संरक्षण तथा व्यवस्थापन भएपछि सो मुहान उपचार, स्नान र मनोरञ्जन स्थलका रूपमा विकास भएको थियो ।
‘रातोपानीको प्राकृतिक तातोपानी कुण्ड स्नानका लागि आउने पाहुना र पर्यटकका कारण चलायमान हुन थालेको स्थानीय बजार र होटल व्यवसायलाई पनि असर गरेको छ,’ उनले भने, ‘बाढीका कारण भौतिक संरचनामा क्षतिसँगै रोजगारी र आयआर्जनको अवसर पनि गुमेको छ ।’
बेनी–जोमसोम सडकको छेउमा रहेको यहाँ प्रतिसेकेन्ड ११ लिटरका दरले ५६ डिग्रीको तातोपानी निस्कने मुहान छ । मुहानबाट निस्किएको पानीलाई पोखरीमा संकलन गरी एक पटकमा ४० देखि ५० जनाले स्नान गर्नसक्ने क्षमताको १०–१० मिटर लम्बाइ र चौडाइ भएको पोखरी बनाइएको थियो ।
तातोपानी कुण्ड व्यवस्थित भएसँगै मुस्ताङ भ्रमण गरेर फर्किएकाहरुले थकान मेटाउन कुण्डमा स्नान गर्ने गर्दथे । कुण्डमा पर्यटक आगमनसँगै रातोपानी, पोखरेबगर र ठूलोबगरको व्यवसाय प्रवर्द्धनमा टेवा पुगेको थियो ।
यहाँ चोटपटक लागेको, बज्रिएको, ग्यास्ट्रिक र चिसोका कारण उत्पन्न स्वास्थ्य समस्याबाट पीडित बिरामी तातोपानीमा डुबुल्की मारेर स्नान गर्न आउने गर्दथे । कुण्ड स्वास्थ्य पर्यटन र उपचारका लागि निकै चर्चित थियो ।
पुनः यही स्थानमा तातोपानी कुण्ड पुनर्निमाण गर्न कठिन हुनेगरी बाढीले बगाएका कारण तातोपानीको मुहानबाट पानी लगेर अन्यत्र स्थानमा स्नानस्थल निर्माण गर्ने विकल्पकाबारेमा छलफल थालिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।









