काठमाडौं– कोभिड–१९ महामारीले आहत पर्यटन क्षेत्रका लागि सुखद संकेत देखिन थालेका छन् । नेपाल आउने विदेशीको बढ्दो संख्याले पर्यटनमा आशा जगाउन थालेको हो ।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार गत जनवरीमा १६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा हवाई मार्ग भएर १६ हजार ९७५ विदेशी पर्यटक नेपाल आएका हुन् ।

अघिल्लो वर्ष सन् २०२१ को जनवरीमा ८ हजार ८७४ विदेशी पर्यटक नेपाल आएका थिए । यसपालिको विदेशी आगमन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९१.३ प्रतिशत बढी हो । जनवरीमा नेपालबाट १७ हजार ९८४ विदेशी बाहिरिएका छन् ।

विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्येको एक विदेशी पर्यटक आगमनमा देखिएको सुधारले अर्थतन्त्र सहज बन्ने सम्भावना देखाएको छ ।

यसपटक सार्क मुलुकबाट सबैभन्दा बढी ५ हजार ५०५ पर्यटक आएका छन् । यसमा पनि छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै ३ हजार ९१६ र बंगलादेशबाट १ हजार २३१ नेपाल भित्रिएका छन् । युरोपबाट ३ हजार ५२७, एसिया तथा अन्य मुलुकबाट १ हजार ११४, अमेरिका र क्यानाडाबाट ३ हजार ६१८, अस्ट्रेलिया र न्युजिल्यान्डबाट १ हजार २४० र अन्य मुलुकबाट १ हजार ९७५ पर्यटक नेपाल आएका छन् ।

सन् २०२१ मा १ लाख ५० हजार ९६२ र सन् २०२० मा २ लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर