काठमाडौं– नेपाल आउने विदेशीले २०० अमेरिकी डलर बराबर परिवर्त्य विदेशी मुद्रा नगदै बोकेर आउनुपर्ने नियम स्थगित भएको छ । अध्यागमन विभागले मंगलबार एक सूचना प्रकाशित गरी उक्त निर्णय स्थगित गरेको हो ।
वैशाख ३ गते त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै अन अराइभल भिसा लिने पर्यटकलाई दुई सय अमेरिकी डलर बराबरको परिवर्त्य विदेशी मुद्रा नगदै बोकेर आउन भनेको थियो ।
उक्त निर्णयको चर्को आलोचना भएको थियो । ‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट २०७९ वैशाख ३ गते जारी सूचना बमोजिमको विदेशी नागरिकलाई दुई सय अमेरिकी डलर लिएर आउन गरिएको अनुरोधलाई स्थगन गर्ने,’ विभागले मंगलबार जारी गरेको
गरेको सूचनामा भनिएको छ ।
विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाले नगद बोक्नुपर्ने नियमले पर्यटक हतोत्साहित हुने भन्दै आपत्ति जनाएका थिए । कोरोनाबाट थला परेको पर्यटन क्षेत्र तंग्रिन खोजेको बेला लगाइएको उक्त नियमले समग्र पर्यटक आगमनमा नकारात्मक असर पर्ने उनीहरुको भनाइ छ ।
अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने विदेशी नागरिकले २०० डलर बराबरको परिवर्त्य विदेशी मुद्रा बोकेर आए भिसा शुल्क तिर्न सजिलो हुने जिकिर गरेको थियो । कतिपयले नगदरहित कारोबार हुँदा त्यहाँका कर्मचारीले घुस खान नपाउने भएकाले नगद ल्याउन भनिएको अर्थ लगाएका थिए ।
मंगलबार अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नेपाल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक, विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख, राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिहरुको उपस्थितिमा छलफल गरी उक्त निर्णय स्थगित गरिएको बुझिएको छ ।
छलफलमा विमानस्थलमा हाल सेवा दिइरहेको राष्ट्रिय वाणिज्य बैंकले हाल सञ्चालनमा रहेको पिओएस मेसिन थप गर्ने, पेमेन्ट गेटवेलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने, आगमन कक्षतर्फ एउटा र प्रस्थान कक्षतर्फ एउटा एटिएम मेसिन थप गर्ने गरी आवश्यक प्रबन्ध मिलाउने निर्णय समेत गरिएको छ ।
भिसा शुल्क सम्बन्धमा असुविधा भए/नभएको विषयमा अध्यागमन कार्यालय, नागरिक उड्डयन कार्यालय र राष्ट्रिय वाणिज्य बैंकले नियमित अनुगमन र निगरानी गरी तत्काल सूचना आदानप्रदान मार्फत समस्या समाधान गर्ने निर्णय समेत गरिएको अध्यागमनको सूचनामा उल्लेख छ ।










