काठमाडौं– स्थानीय तह निर्वाचनका दिन पर्यटकलाई एयरपोर्ट आउजाउ गर्न नेपाल पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन काठमाडौंमा अन्तर्राष्ट्रिय हवाई यात्रुलाई विमानस्थलबाट होटल र होटलबाट विमानस्थल जान सजिलो होस् भने सटल बस सञ्चालन गर्न लागेको बोर्डले जनाएको छ ।
बोर्डले पर्यटक प्रहरीको सहयोगमा टुरिस्ट बस एसोसिएसन अफ नेपाल र नेपाल टुरिस्ट भेहिकल एसेसिएसनको समन्वयनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवतजावतका लागि विभिन्न रुटमा सटल बस सञ्चालन गर्न लागेको हो ।
बोर्डले रुट नं १ मा विमानस्थलदेखि नेपाल वायुसेवा निगम, होटल अन्नपूर्ण, होटल याक एन्ड यती, ठमेल चोक, लैनचौर चोक, शंकर होटल हुँदै विमानस्थलसम्म, रुट नं २ मा विमानस्थलदेखि होटल ¥याडिसन, होटल सांग्रिला, नारायणगोपाल चोक, महाराजगन्ज चोक, हायात होटल, चावहिल हुँदै विमानस्थलसम्म कायम गरेको छ ।
यस्तै रुट नं ३ मा विमानस्थलदेखि तीनकुने चोक, होटल एभरेस्ट, माइतीघर चोक, होटल हिमालयन, होटल सोल्टी, ग्रान्ड होटल हुँदै विमानस्थलसम्म छ । सटल बस सेवा प्रयोग गरेबापत पर्यटकले सम्बन्धित बसधनीलाई ३०० रुपैयाँ बुझाउनुपर्ने बोर्डले जनाएको छ ।









