तनहुँ– बन्दिपुरका होटल, रेस्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ । उत्पादित टपरीको बजारीकरणको लागि गाउँपालिकाले सहयोग गर्ने बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

प्रयोगपछि टपरीलाई कम्पोस्ट मल बनाउन प्रयोग गरिने हुँदा वातावरण सफा र स्वच्छ हुने विश्वास गरिएको उनले बताए । गण्डकी प्रदेश सरकारको गरिबी निवारण उद्यमी विकास कार्यक्रममार्फत बन्दिपुर गाउँपालिका–६ को कमलबारी डाँडाछाप उद्यमी महिला विकास संस्थालाई टपरी बनाउने मेसिन हस्तान्तरण गरी तालिम प्रदान गरिएको छ ।

उक्त मेसिन २ लाख १३ हजार ५०० को लागतमा खरिद गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । मेसिनबाट टपरी बनाउने तालिमको गाउँपालिकाका अध्यक्ष थापाले शुभारम्भ गरेका छन् । सुकाएको सालको पातलाई मेसिनमा राखेपछि टपरी तयार गर्न सकिन्छ ।

‘सुरुमा मानिसले चार वटा पातलाई सिन्काले सिलाएर मेसिनमा राख्नुपर्छ,’ उनले भने । तालिममा १२ जना सहभागी छन् । उत्पादन गरिएका टपरी बन्दिपुर कोसेली घरमा राखेर पनि बिक्री वितरणको व्यवस्था मिलाइने गाउँपालिका कार्यालयले जनाएको छ ।

बन्दिपुर– २ बसपार्कस्थित टुँडिखेल चोकमा बन्दिपुर कोसेली घर निर्माण गरिएको छ । गाउँपालिकाले महिलाहरुलाई आयआर्जनतर्फ उन्मुख गराउन थालेको गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले जानकारी दिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय