काठमाडौं– संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएका छन् । परिषद्को शनिबार भएको निर्वाचनमा प्रधिस्पर्धी ध्रुव अधिकारीलाई पराजित गरी शर्मा अध्यक्ष चुनिएका हुन् ।
यस्तै उपाध्यक्षमा प्रश्रय राजभण्डारी, गीता गुरुङ र सहदेव धमला, महासचिवमा राजीव पाण्डे, सचिवमा रामचन्द्र गिरी र कोषाध्यक्षमा पुण्यराम लगेजु निर्वाचित भएको निर्वाचन अधिकृत पुष्पराम पौडेलले बताए ।
यस्तै आठ सदस्यमा प्रकाश थपलिया, श्रीकृष्ण थपलिया, रोशन अधिकारी, कोपिला सिंखडा, चेतनाथ पुडासैनी, पूर्णिमा मालाकार, तेञ्जिन लामा र लालबाबु चौधरी निर्वाचित भएका छन् । १५ सदस्यका लागि भएको निर्वाचनमा एक हजार ५९८ मतदातामध्ये झन्डै एक हजार ४०० ले मतदान गरेका थिए ।
मतगणना सम्पन्न भएसँगै सञ्चारकर्मीसँग कुरा गर्दैै नवनिर्वाचित अध्यक्ष शर्माले समग्र ठमेल क्षेत्रको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले हाम्रो ठमेल, राम्रो ठमेल निर्माणका लागि आफू कटिबद्ध भएर लाग्ने बताए ।
एक कार्यकाल आमन्त्रित केन्द्रीय सदस्य, एक कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भइसकेका शर्माको स्थायी घर बाग्लुङ हो । उनी लामो समयदेखि ठमेलमा स्पा, होटलजस्ता पर्यटकीय व्यवसायमा संलग्न छन् ।









