काठमाडौं– रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।
हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पुसभित्र सम्पन्न हुने र माग १ गतेदेखि सञ्चालनमा आउने बताएका हुन् ।
करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।
‘केबलकारको तल्लो स्टेसनसम्म पुग्ने करिब ४०० मिटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भएको छ । तल्लो स्टेसनको सब–स्ट्रक्चरको निर्माण कार्य करिब सम्पन्न भई सुपर स्ट्रक्चरको कार्य र साइट डेभलपमेन्टको काम अघि बढिरहेको छ । नौवटा टावरमध्ये ८ वटाको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी रहेको टावरको कार्य अघि बढिरहेको छ,’ उनले भने ।
साथै, उनले माथिल्लो स्टेशनमा सब–स्ट्रक्चरको काम अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जा आयात गर्ने काम अगाडि बढेको जानकारी दिए ।
त्यसैगरी, माथिल्लो स्टेसनमा रहेको मन्दिर क्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँगसँगै सम्पन्न गर्नुपर्ने भएकोले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्तबमोजिम काम सुरु गर्न निर्देशन दिइएको बताए ।
ढकालले माथिल्लो स्टेसनमा प्रस्तावित होटललाई अन्तराष्ट्रिय चेन होटलसँग आबद्ध गराउन अन्तर्राष्ट्रिय परामर्शदातासँग छलफल भइरहेको जानकारी समेत गराए ।
केबलकारको शिलान्यास २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।









