जनकपुरधाम– नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेल वासिङ गराउन मात्र वार्षिक ५ करोडभन्दा बढी रकम खर्च गर्नुपर्ने देखिएको छ । जबकि उक्त रेलको वार्षिक कमाई नै ८ करोड हाराहारी मात्र छ ।
कम्पनीको आफ्नै वासिङ सेन्टर नहँुदा भारतमा वासिङ गराउनुपर्ने अवस्था छ । जयनगर–कुर्था रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।
‘नियमित रेल सेवा सञ्चालन हुँदै आए पनि आफ्नो वासिङ र फ्युल सेन्टर नहँुदा भारतमा रेलको वासिङ गराउनुपर्ने अवस्था छ,’ नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले भने, ‘यसकारण वासिङमा मात्र बर्सेनि पाँच करोड खर्चिनुपर्ने अवस्था छ । भारतमा फ्युल भराउँदा २८ प्रतिशत कर तिर्नुपर्ने अवस्था छ, यसबाट हामी बर्सेनि ठूलो रकम खर्चिन बाध्य छौं ।’
‘नेपाल रेल्वे कम्पनीले आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर स्थापना गर्न सके वार्षिक करिब ७ करोडभन्दा बढी रकम बचत हुन सक्छ,’ उनले भने, ‘यसका लागि बजेट चाहिन्छ, हामीले सरकारसँग बजेट माग्दै आएका छौं तर अहिलेसम्म बजेट पाउन सकेका छैनौं ।’
नेपाली जनशक्ति नहुँदा अहिले भारतीय जनशक्तिबाट रेल सञ्चालन हुँदै आएको छ । ‘नेपाल रेल्वे कम्पनीमा २६ जना भारतीय कर्मचारी कार्यरत छन,’ महाप्रबन्धक झाले भने, ‘भारतीय कर्मचारीको तलब, रेलको मर्मत, सामान खरिदलगायतमा वार्षिक ४८ करोड भारतीय रेल्वे कम्पनीलाई तिर्नुपर्ने अवस्था छ ।’
‘हामीसँग नेपाली चालक छैनन्, त्यसैलै भारतीय चालकले नै रेल चलाउँदै आएका छन् । उहाँहरुलाई तलबबापत मात्रै मासिक १८ लाख तिर्नुपर्ने स्थिति छ,’ उनले भने, ‘तत्काल नेपाली दक्ष कर्मचारी उत्पादन गर्न सम्भव देखिँदैन । नेपाली जनशक्ति तयार गर्न भारत वा अन्य देशका इन्स्टिच्युटबाट तालिम दिलाउनुपर्छ, त्यसका लागि ठूलो रकम चाहिन्छ ।’
जयनगरबाट कुर्था र कुर्थाबाट जयनगर दिनमा दुईपटक आउनेजाने गर्दै आएको रेलबाट दैनिक दुई लाख पाँच हजार आम्दानी हुँदै आएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । रेलको वार्षिक आम्दानी ८ करोड पुग्छ । खर्च भने ५० करोड जति हुँदै आएको महाप्रबन्धक झाले बताए ।
अहिले नेपाल सरकारले भारतीय रेल्वे कम्पनी कार्पाेरेशन (कोंकण) लाई वार्षिक ४८ करोड तिर्नुपर्ने सम्झौता भएको महाप्रबन्धक झाको भनाइ छ । रेल सञ्चालन भएदेखि रेल घाटामा नगए पनि सम्झौताअनुसार भारतीय रेल्वे कम्पनीलाई ४८ करोड तिर्नुपर्ने भएकाले समस्यामा परेको महाप्रबन्धक झाले बताए ।
गत २०७८ चैत १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षीले हरियो झण्डा देखाएर जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको शुभारम्भ गरेका थिए । त्यसयता दैनिक निर्धारित समय तालिकाअनुसार नै नियमित रेल चल्दै आएको कम्पनीका इन्जिनियर विनोद ओझाले जानकारी दिए ।
उनका अनुसार जयनगरबाट ८ः३० र ३ बजे तथा कुर्थाबाट १०ः३० र ५ः१५ बजे रेल छुट्छ । रेल चल्न थालेसँगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास र स्थानीय उत्पादनको निर्यात बढेको जनकपुरधामका व्यापारी रोशन साहको भनाइ छ । रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेसन/हल्ट छन् । तीनमा कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् ।
भारतको सरकारी कम्पनीमार्फत रेल सेट खरिद गरेर दई वर्षअघि नेपाल आइपुगे पनि विभिन्न समस्याका कारण सञ्चालन हुन सकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो । अहिले दुवै सेट रेल सञ्चालनमा छन् ।









