काठमाडौं– नेपालको हवाई उड्डयन क्षेत्रको अवस्था अडिट गर्न युरोपेली संघ (इयू) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पछि विगत १० वर्षदेखि इयूको ‘उड्डयन सुरक्षा सूची’मा रहेको नेपाल हट्ने विश्वास लिइएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दसैंलगत्तै इयूको प्राविधिक टोली नेपाल आएर हवाई क्षेत्रको अडिट गर्नेछ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यही असोजको अन्तिम हप्ता उक्त टोली नेपाल आउन लागेको जानकारी दिए । नेपालले पछिल्ला दिन हवाई सुरक्षादरमा वृद्धि गरेकाले इयूको सुरक्षा सूचीबाट हट्ने सम्भावना रहेको उनले बताए ।

यसअघि सन् २०१४ मा इयूको टोली नेपाल आएको थियो । इयूको टोली आठ वर्षपछि नेपाल आउन लागेको हो । उक्त प्राविधिक टोलीले पाँच दिनसम्म अडिट गर्ने प्रवक्ता निरौलाले जानकारी दिए । उक्त टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्दिनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रमा अध्ययन गर्ने प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को अडिट प्रतिवेदनमा नेपाल ग्लोबल एभरेजभन्दा माथि रहेकाले इयूको सो टोलीको अडिटपछि सुरक्षा सूचीबाट हटेर नेपाली वायुसेवा कम्पनीले युरोपमा उडान गर्न पाउने प्रवक्ता निरौलाले बताए ।

यसअघि नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आइकाओ ले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । पछि सन् २०१७ मा नेपालले प्रगति गरेको भन्दै आइकाओले सुरक्षा सूचीबाट हटाएको थियो । अहिले एशिया प्रशान्त क्षेत्रको ग्लोबल हवाई सुरक्षादर ६७ पुगेको छ ।

आइकाओले गरेको पछिल्लो अडिटमा नेपाली आकाश सुरक्षित देखिएको छ । आइकाओको सेफ्टी अडिटमा नेपालले ७०१ प्रतिशत अंक पाएको थियो । आइकाओको टिमले १३ अप्रिलदेखि २५ अप्रिलसम्म विस्तृत अध्ययन तथा मूल्यांकन गरी नेपाली उड्डयन क्षेत्रको सुरक्षा स्कोर बढेको रिपोर्ट प्राधिकरणलाई बुझाएको थियो । आइकाओले नेपालको हवाई क्षेत्र सुरक्षित रहेको बताए पनि इयूले कालोसूचीबाट नेपाललाई हटाएको छैन । प्राधिकरणले पनि पटक–पटक नेपाललाई कालोसूचीबाट हटाउन माग गर्दै आएको छ ।

इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो ।

नेपाल आइकाओको गम्भीर सुरक्षा सूचीमा परेलगत्तै इयूले पनि नेपाललाई उडान सुरक्षामा चासो देखाउँदै उक्त सूचीमा राखेको थियो ।

सुरक्षासूचीबाट हट्ने आधार
इयूले उठाएका सुरक्षा चासोका विषय सम्बोधन भइसकेको र नेपालको हवाई सुरक्षाको अवस्थामा सुधार आएकाले यो पटक नेपाल इयूको सुरक्षासूचीबाट हट्ने प्राधिकरणका प्रवक्ता निरौलाले स्पष्ट पारे । उनले भने, ‘अब, इयूको सुरक्षा सूचीबाट नेपाल हट्छ । हामीले हवाई सुरक्षादरमा उल्लेख्य प्रगति गरेका छौँ । अन्य धेरै कुराको सुधार भएको छ ।’

तत्कालीन समयमा आइकाओको अडिटमा नेपालको सुरक्षादर कम देखिएको थियो । सोहीलाई आधार मानेर इयूले नेपाललाई सुरक्षा सूचीमा राखेको थियो । पछिल्लो समय आइकाओको अडिटले पनि नेपालको सुरक्षादर माथि देखाएकाले सुरक्षा सूचीमा राखिरान्न नपर्ने प्राधिकरणको आग्रमबमोजिम इयूको टोली नेपाल आउन लागेको प्रवक्ता निरौलाले बताए ।

‘इयूले पहिला जुन इसु उठाएको थियो र नेपालको हवाई सुरक्षाको अवस्थामा सुधार आएको आइकाओले पनि पुष्टि गरेको छ । पछिल्लो हवाई दुर्घटनादर पनि घटेको छ । यही कारणले हामी इयूको सुरक्षा सूचीबाट हट्छो भन्ने आशाावदी छौं,’ उनले भने ।

इयूको सुरक्षा सूचीका कारण नेपालमा दर्ता भएका अन्तरराष्ट्रिय वायुयान इयूमा उड्न पाएका छैनन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले युरोपका आकाशमा उडान भर्न पाउँदैनन् तर, युरोपका जहाजले नेपालको आकाश सहजरुपमा प्रयोग गर्न पाउँछन् ।

उडान सुरक्षाको क्षेत्रमा आइकाओबाट औंल्याइएको गम्भीर कमीकमजोरीलाई निराकरण गर्न नेपालले गरेका अथक प्रयासका कारण २०१७ मा सम्पन्न उडान सुरक्षा सम्परीक्षण अडिटपश्चात् नेपाल गम्भीर सुरक्षा चासोयुक्त मुलुकको सूचीबाट हटेको थियो ।

आइकाओले विश्वव्यापी उडान सुरक्षा सुपरीवेक्षणअन्तर्गत आफ्ना सदस्य राष्ट्रको उडान सुरक्षा स्थितिको नियमितरुपमा मूल्याङ्कन गर्छ । आइकाओले वर्गीकरण गरेको क्षेत्र हवाई कानुन, नागरिक उड्डयन संगठन, व्यक्तिगत इजाजतपत्र, वायुयान सञ्चालन, उडान योग्यता, वायुयान दुर्घटना जाँच, एयर नेभिगेसन सेवा र विमानस्थल सञ्चालन छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय