काठमाडौं– पछिल्लो १० महिनामा पौने ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अंग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म ४ लाख ७३ हजार ५ सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
अक्टोबरमा मात्रै ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल आएका छन् । अक्टोबरको आगमन यो वर्षका अन्य महिनाको तुलनामा बढी हो । यसअघि अप्रिलमा सबैभन्दा बढी ६१ हजार ५ सय ८९ पर्यटक नेपाल भित्रिएका थिए ।
सेप्टेम्बरमा ५८ हजार ३ सय १४, अगस्टमा ४१ हजार ३ सय ४, जुलाईमा ४४ हजार ४ सय ६२ र जुनमा ४६ हजार ९ सय ७५ पर्यटक नेपाल आएका थिए ।
त्यसैगरी, मेमा ५३ हजार ६ सय ८, मार्चमा ४२ हजार ६, फेब्रुअरीमा १९ हजार ७ सय ६६ र जनवरीमा १६ हजार ९ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटक संख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए ।
तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको संख्या ८१ प्रतिशतले घटेर २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए ।
त्यसैगरी २०२१ मा भने १ लाख ५० हजार ९ सय ६२ पर्यटक नेपाल आएका थिए । यो सन् २०२० को तुलनामा ३४.४ प्रतिशतले कम हो ।
पयर्टन बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ मा आएका कुल पर्यटकको संख्यामा ७० देखि ७५ प्रतिशतसम्म ‘रिकभर’ हुने अपेक्षा गरिएको र सोअनुसार पर्यटक आगमन भइरहेको बताए । उनले यही दरमा भित्रिए यो वर्ष ६ लाखभन्दा बढी पर्यटक संख्या पुग्ने बताए ।









